काठमाडौं । मनसुन नेपाल प्रवेशसँगै लगातार भइरहेको वर्षाका कारण केही नदीमा पानीको सतह बढ्दै गएको छ। जसले गर्दा २७ जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदी तथा खोलामा आकस्मिक वहाव बढ्नसक्ने देखिएको छ। केही नदीमा भने बिहानैबाट पानीको वहाव बढेको छ।
चिनियाँ क्षेत्रमा अत्यधिक वर्षा र पहिरोको कारण नदीको वहाव छेकिएको छ। नदीको वहाव खुल्दा तामाकोशी नदीमा बाढी आउनसक्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय, दोलखाले सूचना जारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ।
त्यस्तै, महाकाली र त्यसका आसपासका सहायक नदीमा पानीको वहाव सतर्कता तहसम्म पुगेको महाशाखाले जनाएको छ। कोशी, नारायणी, कर्णाली र सहायक नदीमा पनि पानीको सतह बढ्दै गएको छ।
महाशाखाका अनुसार कोशी, कर्णाली र महाकाली तथा सहायक नदीमा बाढीको उच्च जोखिम रहेको छ। त्यस्तै, पश्चिम राप्ती र बबईमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाको प्रक्षेपण गर्दै महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा २७ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ। जसमा बागमतीका दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, गण्डकी प्रदेशका गोरखा, मनाङ, पर्वत, बागलुङ, म्याग्दी र नवलपुर रहेका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया र पाल्पामा बाढीको उच्च जोखिम रहेको छ। कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ र दार्चुलामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
अन्य केही जिल्लामा पनि बाढीको जोखिम रहेको छ। महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

























