२ भदौ, हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन्।
हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले परिस्थिति सधैं एउटै नहुने भएकाले आफूले पार्टी एकताका लागि त्याग गरेको बताए।
‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं।’
पौडेलकै प्रस्तावमा शाक्य प्रदेशसभा संसदीय दलको नेतामा आजै सर्वसम्मत चयन भएकी छिन् । पौडेलका अनुसार शाक्य आजै मुख्यमन्त्री नियुक्त भएर सपथ लिँदै छिन्।
पौडेलले आफ्नो साढे ३ वर्षे कार्यकालमा अत्यन्तै राम्रो गर्न नसके पनि नराम्रो नगरेको बताए। ‘म पूर्णरुपमा सन्तुष्ट छु, मैले धेरै राम्रो गर्न सकिन होला’, उनले भने, ‘नराम्रो एउटा पनि गरेको छैन।’
























