नेपाली पैसा
काठमाडौं : यसपालि प्रहरीले दसैंमा बिदा नपाउने भएका छन् । कोरोना भाइरस विरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् । तर सुत्केरी, किरियालगायत अत्यावश्यक बिदा भने पाउनेछन् । पछिल्लो समय कोरोना भाइरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियतासमेत बढाउनुपर्ने भएपछि अत्यावश्यकबाहेक अन्य अवस्थामा बिदामा रोक लगाइएको हो । प्रहरीमा ७९ हजारको दरबन्दी कायम भए पनि १२ हजार बढी दरबन्दी रिक्त छ ।
शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सक्रिय रहने प्रहरीमा सुरक्षा संगठनकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । प्रहरीमा हालसम्म ४८ सयको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन् । त्यसैले पनि प्रहरीलाई विगतको तुलनामा भार बढेको हो । संक्रमण देखिएका प्रहरी डिस्चार्ज भएपछि थप एक साताको आरामपछि मात्रै काममा फर्किने गरेका छन् ।