विवेकशील साझा पार्टीका १३ नेताले दिए सामूहिक राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ कात्तिक, काठमाडौं : विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे छन् ।

युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले पनि राजीनामा दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाएका छन् । उनीहरुले भनेका छन्, ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्‍याएको हाम्रो ठहर छ ।’

पूर्वसचिवालय सदस्य भण्डारीले आफूहरुले पार्टीमा देखिएको दुईधारबीच मिलनविन्दु भेटिन सक्छ कि भनेर दबाब स्वरुप पहिल्यै राजीनामा दिएको अनलाइनखबरलाई बताए । ‘तर उहाँहरु मिल्न सक्नुभएन, यो दुखद् कुरा हो’ उनले भने ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको मागसहित दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक ध्रवीकरण देखिएको थियो । पछि पार्टीका बहुमत केन्द्रीय सदस्यहरु अध्यक्ष मिश्रको पक्षमा देखिए ।

निर्वाचन आयोगले मिश्र पक्षको बैठकलाई आधिकारिकता पनि दिएको छ । मिश्र पक्षको बैठकले विधान संशोधन गरी पार्टीका संयोजक मिलन पाण्डेको अधिकार कटौती गरेको छ र पाण्डे पक्ष अल्पमतमा छ ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.