सोलुखुम्बु | संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाउनुभएको हो । मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
विमानस्थल पुनः सञ्चालमा ल्याइने
मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिनुभयो । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताउनुभयो । सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं. १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताउँनुभयो । उहाँले काठमाडौँबाट र काँगेलबाट र विराटनगर–काँगेल पनि उडानका लागि तयारी गर्न आग्रह गर्नुभयो ।
अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताउनुभयो । नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नतिका लागि भएका पहल सकारात्म रहेको जनाउनुभयो । गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थगल पुनःसञ्चालनका लागि स्थानीय सरकार साझेदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विसं. २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा शुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।
काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि मन्त्री भट्टराईले महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गर्नुभएको छ । वातावरणीय प्रभाव मुल्यांकन पास भएको उक्त विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पनि छिट्टै बन्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विमानस्थल सञ्चालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हुने मन्त्री भट्टराईको भनाइ छ ।महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ विमानस्थल त्यस क्षेत्रका नागरिकको समेत जीवनस्तरसँग जोडिएको हुनाले द्रुतगतिमा निर्माण कार्य अघि बढाउन आग्रह गर्नुभयो ।