शुक्रबार १२ ,मङ्गसिर २०७७
भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको उत्तर र दक्षिणतर्फका स्थानीयबीच हानाथाप सुरु भएपछि विमानस्थलको स्तर उन्नतिको काममा अवरोध पुगेको छ । उत्तरतर्फका स्थानीयले पछिल्लो विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार काम थाल्नुपर्ने दाबी गर्दै आएका छन् भने दक्षिणतर्फका स्थानीयले दक्षिणतर्फकासँग समन्वय नगरी निर्माण कार्य थालिए सशक्त प्रतिकारमा उत्रिने बताएका छन् ।
भद्रपुर–९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, महिला नेतृ सुशीला बस्नेत, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले सम्बोधन गर्दै चन्द्रगढी विमान स्थलको स्तर वृद्धि कुनै बहानामा रोक्न नहुने भन्दै डीपीआर अनुसार अविलम्ब काम थालिनु पर्ने माग राखेका छन् ।
पछिल्लो डीपीआरअनुसार उत्तरपट्टि मूल गेटसहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने गरी कार्ययोजना तयार भएपछि दक्षिणपट्टिका स्थानीयले प्रमुखद्वार सार्न नहुने अडान राखेका छन् ।
यता दक्षिण तर्फका स्थानीयले जनप्रतिनिधि तथा स्थानीय सङ्घ–संस्था, सरोकारवाला पक्षसँग समन्वय नगरी टर्मिनल भवन र मुख्य प्रवेशद्वार सार्न चलखेल सुरु भएको बताएका छन् ।
उत्तरतर्फले गरिरहेको विरोधमा स्थानीयले चन्द्रगढी विमानस्थल सरोकार एवम् सङ्घर्ष समितिसमेत गठन गरेका छन् । रुद्रप्रसाद चूडालको संयोजकत्वमा १३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ ।
विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउँदा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरपट्टि सार्न खोजिएको भन्दै त्यसको विरोधमा उनीहरूले सङ्घर्ष समिति गठन गरेका हुन् ।
समितिले टर्मिनल भवन र मुख्य प्रवेशद्वारको विषयमा ध्यानाकर्षण गराउँदै केही दिनअघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई लिखितरूपमै ज्ञापन–पत्र बुझाइसकेका छन् ।
जिल्लाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थल २०२१ सालमा सञ्चालनमा आएको हो । घाँसे मैदानबाट उडान सुरु गरिएको विमानस्थललाई करिब एक वर्षअघि विस्तार गरी अन्तर्राष्ट्रियस्तरको बनाउने भनेर बिर्तामोडमा यहाँका स्थानीय तथा जनप्रतिनिधिलाई जानकारी नगराई डीपीआर पेश गरी अहिलेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरतर्फ सार्ने डिजाइन पेश गरिएको थियो ।
डीपीआरमै भवन र प्रवेशद्वार सार्न खोजिएको डिजाइन बाहिर ल्याएसँगै त्यसको विरोधमा भद्रपुरवासी उत्रिएका थिए । स्थानीय विरोधमा उत्रिएपछि प्रवेशद्वार र भवन नसार्ने भनी विमानस्थलले आश्वासन दिएपछि माहौल शान्त भएको थियो । तर, अहिले फेरि क्षेत्रीयस्तरको विमानस्थल बनाउन खोज्दा भवन र प्रवेशद्वार सार्ने चलखेल सुरु भएपछि स्थानीयले सङ्घर्ष समिति गठन गरेको स्थानीय किशोर कोइरालाले जानकारी दिए ।
उता विराटनगर विमानस्थललाई भने स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।