१८ फागुन, विराटनगर : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खनालले एमसिसीका व्याख्यात्मक घोषणा भनेको नेताहरूलाई आनन्दले सुत्न बनाइएको ‘न्यानो थाङ्नो’ रहेको बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन्।
उनले २७५ सांसदलाई हेरेको हेरेकै पारेर जबरजस्ती पास गरेको आरोप लगाए। यसरी जबरजस्ती एमसिसी पास गर्नु नेपालको इतिहासमै दुःखद लज्जाजनक रहेको पनि उनले बताए। ‘न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेरेकै पारेर जबरजस्ती माथिबाट पेलेर एमसिसी पास गरियो’ उनले भने।
एमसिसी संसदबाट पास गर्दासमेत प्रक्रिया नपुगेको बताए ‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदनभर नै छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘छलफल भएन भने अर्को सदनमा फेरि पेश गर्नुपर्ने हुन्छ।’
प्रतिपक्षको अवरोधबीच फागुन १५ गते सरकारले संसद्बाट एमसिसी अनुमोदन गरेको थियो। जसमा सत्तारुढ दल एकीकृत समाजवादीका खनाल र माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले गम्भीर असहमति जनाएका थिए।
























