अवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।

सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता गर्नुपर्ने निर्णयसँगै सुरुङ मार्ग निर्माण पुनः सुरु भएको हो । आयोजना प्रमुख शाक्यका अनुसार पानीको समस्या तत्काल समाधानका लागि चन्द्रागिरि नगरपालिकाको संयोजकत्वमा ट्याङ्करबाट पानी वितरण गर्ने र दीर्घकालीन समाधानका लागि अहिलेको पम्पलाई अझ तल सारेर पानी उत्पादन क्षमता बढाउने र वडा नं. २ मा ‘डिप बोरिङ’ गर्ने तथा सोको सम्पूर्ण खर्च आयोजनाले बेहोर्ने सहमति भएको हो । ‘डिप बोरिङ’ गर्नका लागि जग्गा नगरपालिकाले उपलब्ध गराउनुपर्ने हुन्छ ।

त्यसैगरी सुरुङ क्षेत्रमा सिँचाइका लागि सिस्नेखोलाको पानीलाई लिफ्ट गरी माथि तानेर पानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु गरिने सहमति भएको हो । सुरुङमाथि जग्गाको मुआब्जा कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्दै त्यसको मुआब्जा नदिनुपर्ने, स्थानीयवासीले सुरुङमाथि घर बनाउन पाउने तर ‘डिप बोरिङ’ जस्ता संरचना निर्माण गर्न नपाउने सहमति भएको जानकारी शाक्यले दिनुभयो ।

उहाँका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएपछि सुरुङ मार्गमा उठाइएको करबाट चन्द्रागिरि नपा वडा नं. २ लाई समेत केही भाग दिनुपर्ने स्थानीयवासीको मागको सम्बोधन अर्थ मन्त्रालयले गर्ने सहमति भएको हो । त्यसैगरी अबका दिनमा कुनै पनि बहानामा आयोजना स्थलमा हुलहुज्जत गर्ने, आक्रमण गर्ने कार्यमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्ने सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.