शर्मा–सिटौला शक्ति संघर्ष सतहमै

A notice in Nepali from Mechinagar Ward No. 10

१३ वैशाख,  काँकरभिट्टा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीचको वर्षौंदेखिको शक्ति संघर्ष सोमबार सतहमै देखिएको छ । भूगोल र जनसंख्याका हिसाबले जिल्लाकै ठूलो मेचीनगर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने विषयमा भएको विवादपछि शर्मा–सिटौलाको वर्षौंदेखिको आन्तरिक द्वन्द्व सतहमै देखा परेको हो ।

 

 

मनोनयन दर्ताका क्रममा शर्मानिकट प्रमुखका उम्मेदवार इन्द्र बुढाथोकी र सिटौलानिकट प्रमुखका उम्मेदवार केशवराज पाण्डेबीच विवाद भएको थियो । मनोनयन दर्ताका लागि पहिला शर्मानिकट उम्मेदवार नगर निर्वाचन कार्यालय पुगेका थिए । केन्द्रले पठाएको प्रमुखको टिकटलगायतका कागजातसहित फारम भरेर बसेका बुढाथोकीका प्रस्तावक पुष्पराज पौडेलको हातबाट पाण्डेले फारम थुतेका थिए । सो क्रममा झन्डै हात हालाहालको स्थिति भएको थियो ।

पछि पौडेल प्रस्तावक र सूर्य कार्की समर्थक बसेर पुनः नयाँ फारम भरेर निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो । तर, विवाद भएको भन्दै निर्वाचन अधिकृत वेदराज फुँयालले मनोनयन दर्ता गर्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले फोन गरेर ‘आधिकारिक उम्मेदवार’ बुढाथोकी नै भएको जानकारी गराएपछि बल्ल मनोनयन दर्ता भएको थियो ।

कांग्रेसको विधानअनुसार नगरपालिकाका मेयर र उपमेयर पदको उम्मेदवार नगर र जिल्लाको सिफारिसमा प्रदेश संसदीय समितिले टुंगो लगाउने प्रावधान थियो । सोही प्रावधानलाई टेकेर प्रदेश समितिले जिल्ला सभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिटौलाका विश्वासपात्र मानिने प्रदेश संसदीय समितिका सभापति उद्धव थापाले एकलौटी ढंगबाट पाण्डेलाई टिकट दिएको भन्दै महामन्त्री शर्मा आक्रोशित बनेका थिए । आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा भएको लामो संवादपछि प्रदेशको निर्णयलाई केन्द्रले हस्तक्षेप गर्दै शर्मानिकट बुढाथोकीलाई केन्द्रबाटै टिकट दिलाइएको थियो ।

आफ्नो क्षेत्रमा सिटौलाले हस्तक्षेप गरेको निर्णयप्रति महामन्त्री शर्माले असन्तुष्टि पोखेका थिए । शर्माले सिटौला समूहले एकलौटी गर्न खोजेको भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई केन्द्रबाटै हस्तक्षेप गर्न लगाएका थिए । केन्द्रको हस्तक्षेपपछि पाण्डेको टिकट खोसिएको छ । निर्वाचन कार्यालयले बुढाथोकीको उम्मेदवारीलाई आधिकारिक मान्दै उनको मनोनयन दर्ता गर्न मानेन । तसर्थ दलबलसहित आएका उनी निराश भएर फर्किएका थिए ।

झापामा वर्षौंदेखि शर्मा–सिटौला शक्ति संघर्ष छ । पार्टीको नगर, क्षेत्र र जिल्ला तहको चुनावमा मात्रै हैन, नगर, प्रदेश र संघीय निर्वाचनमा पनि यही दुई शक्तिबीच आन्तरिक टकराव हुँदै आएको छ । अघिल्लो पटक प्रतिनिधिसभा निर्वाचनमा शर्मालाई हराउन सिटौला ‘हात धोएर’ लागेको चर्चा कांग्रेसीजनमा अझै चर्चाको विषय बन्ने गर्छ ।

शर्मा–सिटौलाबीचको यो ‘जुंगाको लडाइँ’ आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा झन् चरम रूपमा बढ्ने अनुमान कार्यकर्ताको छ । ‘यही संघर्षको घानमा पाण्डे र बुढाथोकी परेका हुन्,’ एक कांग्रेस नेताले भने, ‘यसले सिंगो पार्टीलाई ठूलो असर पार्नेछ ।’

शर्मानिकट बुढाथोकी क्षेत्र नम्बर १ का सभापति हुन् । व्यवसायी पृष्ठभूमिका पाण्डे जिल्ला उपसभापति हुन् । ‘महामन्त्री शर्माको निर्वाचन क्षेत्रको प्रभावशाली नगरपालिकामा प्राथमिकतामै नपरेका पाण्डेलाई नेता सिटौलाले उम्मेदवार बनाउने निर्णय गरेका पाइयो,’ कांग्रेस नेता पुष्पराज पौडेलले भने, ‘पाण्डे आधिकारिक उम्मेदवार हैनन्, आधिकारिक उम्मेदवार बुढाथोकी हुन् ।’

शर्माको पहिलो प्राथमिकतामा रहेका पूर्वक्षेत्रीय सभापति मणिकुमार उप्रेती र दोस्रोका बुढाथोकी दुवैलाई छाडेर सिटौलाले पाण्डेलाई उम्मेदवार बनाउन प्रदेश समितिमा हस्तक्षेप गरेको आरोप शर्मानिकट नेताहरूको छ ।

कांग्रेसको झापा जिल्ला समितिमा सिटौलाको वर्चस्व छ । नगर र क्षेत्रमा पनि सिटौलाले आफूनिकटलाई सभापति बनाउने रणनीति बनाएका थिए । तर, उनी असफल भएका थिए । बिर्तामोड र भद्रपुरको प्रमुखमा सिटौलानिकट भोजराज सिटौला र गणेश पोख्रेलले प्रमुखको टिकट पाइसकेका छन् ।

साभार : इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.