यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, काठमाडौँ : यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ । यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं. १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भएमा पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ हो । तर यस वर्ष भने जुन १ (जेठ १८ गते)देखि नै मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ ।

३० वर्षको अवधिमा भएको सरदर वर्षाको आँकडा तुलना गरेर औसत निकालिन्छ । सन् १९९० देखि सन् २०२० सम्मको वर्षाको आँकडालाई हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरेर गत वर्ष अध्यावधिक गरिएको थियो । त्यसअघिसम्म नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो । तर गत वर्ष जेठ २८ गते नै मनसुन नेपाल भित्रिएको थियो ।

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ले निकालेको साझा निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मौसमी अवस्थाबारे आँकलन प्रतिवेदन तयार गर्दछ ।

सास्कोफमा नेपाल, भारत, म्यानमार लगायतका दक्षिण एसियाली ९ देशका मौसमविदहरु र विश्व मौसम संगठन, विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिस बेलायत, थाइल्याण्ड, अमेरिका र जापानका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

यस वर्ष सास्कोफको २२ औं सत्रको बैठक भर्चुअल माध्यमबाट यही वैशाख १३ गतेदेखि १५ गतेसम्म बसेको थियो । यही मञ्चले २०७९ सालको मनसुन दक्षिण एसियाका अधिकांश भूभागहरुमा सरदर वा सरदरभन्दा बढी पानी पर्ने भनेर आफ्नो साझा निष्कर्ष निकालेको थियो । सोही निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालका अधिकांश स्थानमा यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो ।

गत वर्ष (२०७८ साल)को मनसुन अविधिमा पनि विभागले धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । गत वर्ष सो प्रक्षेपण मिलेको थियो । २०७८ को जेठ मसान्तमा आएको ठूलो बाढी तथा पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा जनधनको व्यापक क्षति पुर्याएको थियो ।

गत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.