मेचीनगरमा मतदान सामग्रीसहित कर्मचारी मतदान स्थल पुगे

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, मेचीनगर : नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि दोस्रो पटक २०७९ वैशाख ३० गते भोली हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री मेचीनगरका मतदानस्थलमा पुगेका छन्  । २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझेर सम्बन्धित केन्द्रमा पुगेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाले जनाएको छ । मतदाता नामावली, परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सामान मतदान अधिकृत र सहायक अधिकृतलाई दिइएको छ ।

निर्वाचन कार्यालयबाट मतपेटिका, मतदान कार्यमा आवश्यक सबै सामग्री लिएर कर्मचारी मतदान स्थलमा खटिइसकेका छन् । सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईका अनुसार १५ वटा वडा रहेको मेचीननगर नगरपालिकामा कुल ३५ वटा मतदान स्थल अन्तर्गत १ सय २ वटा मतदान केन्द्र रहेका छन् ।

शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई बुधबारबाट सम्बन्धित मतदान स्थलबाटै मतदाता परिचयपत्र वितरण सुरु गरेको उहाँको भनाई छ । मतदाताहरू आफ्नो परिचयपत्र लिनका लागि मतदान स्थलमा लामबद्ध भएका बसिरहेका देखिन्थे । निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन आउँदा मतदातालाई आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य ल्याउन भनेको छ । नगरका हरेक मतदान केन्द्रबाट बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गरिएको उहाँको भनाई छ ।

सहायक अधिकृत भट्टराईका अनुसार ५ सय १० जना कर्मचारी नगरका मतदान केन्द्रमा खटिएका छन् । मतदान केन्द्रमा निर्वाचन आयोगका कर्मचारी ,नेपाली सेना, प्रहरी, सशस्त्र , म्यादी र नेपाल स्काउटका स्वयंसेवकहरु खटिने छन् । सुरक्षा निकायले सबै मतदान स्थल र केन्द्रमा पुगेर सुरक्षाको सम्पूर्ण बन्दोवस्ती मिलाइसकेको एकजना सुरक्षा अधिकारीले बताए । ४५ हजार ११ सय १२ पुरुष र ४५ हजार ९० महिला गरी कुल ९० हजार २ सय २ जना मेचीनगरमा मतदाता संख्या रहेको छ । मेचीनगरमा कुल ७६ पदका विभिन्न ११ राजनीतिक दल र स्वतन्त्र १३ गरी कुल ३ सय १९ जना चुनावी प्रतिस्पर्धामा रहेको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिनुभयो । मेचीनगर नगरपालिका वडानम्बर ११ मा एमालेकातर्फबाट दलित सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएकी रञ्जिता नेपाली यसअघि निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले गाउँगाउँमा मतदाता शिक्षा नदिएकाले केन्द्र र स्थलमा डेस्क स्थापना गरेर मतदाता शिक्षा दिइरहेको छ । हरेक मतदाताले स्थानीय तहको निर्वाचनमा सात वटा पदमा मतदान गर्नुपर्ने कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्य र दलित महिला सदस्यमा एक–एक जना र खुला वडा सदस्यमा दुई जनालाई मतदान गर्नुपर्ने बताइएको छ ।

मतदान कसरी गराउने र त्यसलाई व्यवस्थित गर्ने सम्बन्धमा नगरमा सर्वदलीय बैठक बसेर छलफल गरिएको छ । ‘मतदान केन्द्र निर्माण, परिचयपत्र वितरण, सवारी साधनका विषयमा स्थानीय राजनीतिक दल, उम्मेदवार, सर्वपक्षीय छलफल गरेका छौ’ भट्टराईले भन्नुभयो—‘आचारसंहिताका बारेमा समेत हामीले सञ्चारकर्मीसहित सवैपक्षसँग छलफल गरेका छौ । ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.