आज पनि संसदमा अवरोध जारी राख्ने

A notice in Nepali from Mechinagar Ward No. 10

३ जेठ, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ। मंगलबार मदन-आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय लिइनसकेको बताएका हुन्।

उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिइसकेको तर छलफलमा रहेको बताए। स्थानीय निर्वाचनको मत परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए।

नेम्वाङले भने, ‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ। तर हामी छलफलमा पनि छौँ। स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ। जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ। यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ। तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ।’

सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एकल्या‍उने ढंगले काम गर्नु आश्चर्य भएको बताए। उनले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गरे। सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताएका छन्।

‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु। नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो। संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरूले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एकल्या‍उने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो’ उनले भने।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताए। उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए।

प्रमुख सचेतक भट्टराईले भने, ‘वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही ठाउँ बाहेकका अधिकांश स्थानको मत परिणाम आउने क्रममा नै छ। नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन। हाम्रो विरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर हामीविरुद्ध दुई वटा घेराबन्दी गरिएको थियो। त्यसका बाबजुद पनि हाम्रो ठिकै रिजल्ट आइरहेको छ। त्यसको समीक्षा हुनेछ।’

स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आईरहेको बताए। उनले स्थानीय तह सदस्य निर्वाचनको नतिजा बारेमा पार्टीले समीक्षा गर्ने पनि बताए।

संसद्‌को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। आज मध्यान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बस्‍न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.