गुरुलाई चुनावमा हराए तर काँधमा बोकेर गरे विजय र्‍याली

A notice in Nepali from Mechinagar Ward No. 10

हेटौंडा : यसपालिको स्थानीय तह चुनावमा पनि राजनीतिक दल र विभिन्न पदमा उठेका तिनका उम्मेदवारबीच कतिपय ठाउँमा घम्साघम्सी र कुटाकुट भएको समाचार आए। चुनावताका यस्ता घटनाहरूका तात्ताता समाचार निकै ‘हट केक’ बन्ने गरेका छन्।

 

 

अझ मतगणनाको परिणाम घोषित भइसकेपछि दलबलसहित विजयी उम्मेदवार साँढे डुक्रेझैं नाराबाजी गर्ने र पराजित उम्मेदवार भने सिंगौरीमा हारेको गोरुजस्तो लुते कान लगाएर कुना पसेको देखिनु हाम्रोमा सामान्य हो।

तर यसको ठीक विपरीत यसपालिको स्थानीय तहमा विजयी उम्मेदवारले आफ्नै प्रतिस्पर्धी र पराजित उम्मेदवारलाई काँधमा बोकेर डुलेको दृश्यले धेरैलाई अचम्मित तुल्यायो। वडाध्यक्षमा निर्वाचित भएपछि निकालेको विजय र्‍यालीपश्चात् घिमिरेले आफ्नै प्रतिस्पर्धी बनेका आचार्यलाई काँधमा बोकेको तस्वीरले सबैको ध्यान आकर्षित गरेको छ।

अहिलेको समयमा यस्तो सौहार्द्रता देख्न पाउनु पनि आठौं आश्चर्यसरह नै हो। कुरा हो हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको। तस्वीरमा रातो अबीरमा पुरिएका व्यक्ति हुन् सुशील घिमिरे अर्थात् वडा नम्बर ५ को अध्यक्षमा विजयी नेकपा एमालेका उम्मेदवार।

विजयी उम्मेदवारलाई पो काँधमा बोक्ने हाम्रो परम्परागत चलन छ। यहाँ त उल्टै वडा अध्यक्षमा चुनाव जितेका घिमिरेले अर्कै व्यक्तिलाई काँधमा बोकेका छन्, जो चुनावमा वडा अध्यक्षमा उठेका थिए। त्यो पनि अर्को वडामा होइन‚ घिमिरे उठेकै वडा नम्बर ५ मा। अर्थात घिमिरेले काँधमा बोकेका व्यक्ति उनकै प्रतिस्पर्धी थिए।

तर यी दुई प्रतिस्पर्धी उम्मेदवारबीच यस्तो सौहार्द्रता कसरी स्थापित भयो, तस्वीर देख्ने सबैलाई लाग्न सक्छ। यसबारे थाहा पाउन अलिकति पछाडि फर्कौं।

नेकपा एमालेबाट हेटौंडा उपमहानगरको ५ नम्बर वडामा अध्यक्षका उम्मेदवार थिए घिमिरे भने उनले काँधमा बोकेका व्यक्ति थिए- हयग्रीव आचार्य। आचार्य पनि त्यही वडामा पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार थिए।

बिहीबार (आज) बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार हेटौंडा उपमहानगरको वडा नम्बर ५ को अध्यक्षमा घिमिरे निर्वाचित भए। वडाध्यक्षमा निर्वाचित भएपछि आफूसँग पराजित भएका आचार्यको घरमै पुगेर उनलाई सम्मान गर्दै काँधमा बोकेका थिए।

उनले आचार्यलाई काँधमा बोकेको तस्वीर यतिवेला सामाजिक सञ्जालमा राजनीतिक संस्कार यस्तै हुनुपर्ने भन्दै असंख्य टिप्पणी आइरहेका छन्। उनीहरूको तस्वीरलाई असल राजनीतिक संस्कारको उदाहरण समेत यस्ता टिप्पणीमा भनिएको छ।

काँधमा बोक्ने घिमिरे र बोकिने आचार्यबीच कसरी यस्तो सौहार्द्रता भयो त? दुवैबीच के सम्बन्ध छ? दुवैबीच ज्ञानको सम्बन्ध छ भन्नु उचित होला। यसो भन्नु शायद अलि अमूर्त भयो। बुझिने तरिकाले भन्नुपर्दा आचार्य गुरु हुन् भने घिमिरे उनका चेला। अर्थात स्कुल जीवनमा आचार्यले घिमिरेलाई अध्यापन गराएका थिए।

दुवै जना एउटै वडाका बासिन्दा भए पनि फरक फरक दलबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए। पूर्वअन्तरराष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका घिमिरे एमाले र आचार्यले कांग्रेसबाट उम्मेदवारी दिएका थिए। घिमिरे २ हजार ५ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा आचार्यले १ हजार ३ सय ९० मत पाए।

हेटौंडा-५ को निर्वाचनमा प्रतिस्पर्धी बनेका आचार्यलाई मत परिणामपछि घिमिरेले गरेको सम्मान नेपाली राजनीतिका लागि उदाहरणीय बन्न सक्छ।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.