काठमाडौँ । काठमाडौँ माइतीघर मण्डलामा उखु व्यासायीहरुले गरेको आन्दोलनको समर्थनमा चर्चित लोक तथा जागरण गायक बद्री पङ्गेनी पनि सरकि भएका छन् ।
माइतीघर मण्डलामा उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौं आइपुगेका थिए । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका थिए ।
चार–पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलन गर्दै आएका छन् । पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने उनीहरूको क्रम दोहोरिरहेको छ ।
यस पटकको आन्दोलनपछि उक्त परम्परा तोडिने उनीहरूको आशा छ । यस पटक भने किसानहरु नगदमै सहमति गरेर मात्रै घर फर्किने अडानमा रहेका छन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार २० हजारभन्दा धेरै किसानलाई ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले दिन बाँकी रहेको छ ।