काठमाडौँ। नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा गरिने भएको छ ।
प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपतिक्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।
नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपतिक्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले बताउनुभयो ।