बिहीबार , २ पुस , २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद मत्थर बनेको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुईबुँदे सहमतिपछि सहमतिबाटै स्थायी कमिटीको अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ । त्यस अवधिमा दुई अध्यक्षका प्रस्तावका ठाउँमा सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यसमेत गरिने भएको छ ।
अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार संवैधानिक परिषद् संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशन बोलाइपाऊँ भनी राष्ट्रपति कार्यालयमा बुझाउन लगिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति भएको छ ।
अध्यक्ष दाहालको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भए पनि स्थायी कमिटीको अर्को बैठकअगावै सहमतिका लागि आवश्यक गृहकार्य गरिने सहमति भएको नेता नेम्वाङले बताउनुभयो ।
उहाँले पार्टीको सुदृढ एकताका लागि सकारात्मक आधार तयार भएको र यसकै आधारमा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न सकिने बताउनुभयो ।