काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष दीक्षान्त समारोहमा अपेक्षित विद्यार्थी नपाउने भएको छ । कोरोना महामारीको बढ्दो त्रासका बीच त्रिवि कार्यकारी परिषद्ले ४६ औं दीक्षान्त समारोहमा स्वर्णपदकधारी, विद्यावारिधि र एमफिल उपाधिप्राप्त विद्यार्थी सहभागी गराउने निर्णय गरेको थियो ।
तर पुस ६ गते हुने त्रिविको दीक्षान्त समारोहमा अपेक्षित विद्यार्थीको २४ प्रतिशतमात्र उपस्थित हुने भएका छन् । कार्यकारी परिषद्ले यस वर्ष दीक्षान्त समारोहमा स्वर्णपदकधारी, विद्यावारिधि र एमफिल उपाधिप्राप्त तीन सय ३८ विद्यार्थी सहभागी हुने अपेक्षा गरेको थियो । तर ८३ विद्यार्थीबाहेक अरूले सहभागिताको फारम भरेनन् ।
यस वर्ष २०७६ असार १ देखि २०७७ जेठ मसान्तसम्म विभिन्न परीक्षा उत्तीर्ण गर्ने त्रिविका सबै सङ्कायका गरी ५६ हजार सात सय १३ विद्यार्थी दीक्षान्त समारोहका लागि योग्य थिए । जसमा सात हजार ८७ ले दीक्षान्त समारोहमा सहभागी हुने इच्छा देखाएका थिए । तर सात हजार विद्यार्थीलाई एकै पटक उपस्थित गराउन नमिल्ने भन्दै त्रिविले स्वर्णपदकधारी, एमफिल र विद्यावारिधि गरेका विद्यार्थीलाई मात्र बोलाएको थियो ।
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस पटक सरकारले बढीमा दुई सय विद्यार्थीे उपस्थित गराएर दीक्षान्त समारोह सम्पन्न गर्ने सरकारी निर्देशन थियो । सोही निर्देशनलाई ध्यानमा राख्दै कार्यकारी परिषद्ले एमफिल, विद्यावारिधि र स्वर्णपदकधारी विद्यार्र्थीमात्र उपस्थित गराउने निर्णय गरेको थियो ।
त्रिविमा यस वर्ष दीक्षित हुुन योग्य एमफिल र विद्यावारिधि गरेका तीन सय १७ तथा स्वर्णपदकधारी २१ विद्यार्थी छन्, जसमध्ये एमफिल र विद्यावारिधि गरेका ६६ र स्वर्ण पदकप्राप्त १७ गरी ८३ विद्यार्थीले दीक्षान्त समारोहमा भाग दिने इच्छा देखाए ।
त्रिविले कोरोना जोखिमका कारण विद्यार्थीका अभिभावकलाई समेत समारोहमा सहभागी हुने अनुमति दिएको छैन । यसबाट त्रिविको दीक्षान्त समारोह कुनै हर्षको समारोह नभई केवल औपचारिकता सीमित कार्यक्रमसरह हुने भएको छ ।
नियन्त्रक जोशीका अनुसार दीक्षान्तयोग्य अन्य विद्यार्थीले पुस ७ देखि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय आएर आफ्नो प्रमाण–पत्र लिन सक्नेछन् । दुरी कायम गरी विद्यार्थीहरुले गाउन र टोपी लगाएर फोटो खिच्न सक्नेछन् ।
कुलपति एवम् प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा त्रिवि परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा हुने औपचारिकतामा सीमित दीक्षान्त समारोहमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख अतिथि रहनेछन् । गत वर्ष पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको चौरमा सम्पन्न ४५ औं दीक्षान्त समारोहमा विद्यार्थी, अभिभावक, अतिथि गरी २२ हजारभन्दा बढीको प्रत्यक्ष उपस्थित थियो ।
‘कोरोना जोखिमका कारण यस वर्ष दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावक तथा अनिवार्यबाहेक अन्य अतिथिलाई बोलाउन सकिएन,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘अपेक्षित विद्यार्थी पनि नआउने भए । तर यसमा दुःख मान्नुपर्ने केही छैन । समय नै प्रतिकूल भएपछि कसैको कैही लाग्दैन । यस वर्ष दीक्षान्त समारोहको परम्परा धान्न जसोतसो कार्यक्रम गर्छौँ । अर्को वर्ष भव्य समारोह गरौँला ।’