Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारओलीको ठोकुवा- ‘प्रतिनिधिसभा पुनःस्थापना हुँदैन’

ओलीको ठोकुवा- ‘प्रतिनिधिसभा पुनःस्थापना हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा केन्द्रीय कमिटीको बिहीबारको बैठक सकिएपछि सदस्यहरू आ–आफ्नो नाम लेखिएको स्टल खोज्दै गए । स्टलमा पुगेर सही गरेपछि त्यहाँ खटिएका स्वयंसेवकले खाजाको प्याकेट थमाउँथे ।

यस्तैमा वेदबहादुर गुरुङ (श्याम) देखि हृदय ठाकुरसम्मका केन्द्रीय सदस्यहरूका लागि तयार पारिएको पुछारको स्टलछेउ पूर्वको एउटा समूह आइपुग्यो । तीमध्ये एक जना पाका नेताले सोधे, ‘हाम्रो संयोजक को हो थाहा छ नि ?’ अरू चार–पाँच जना नेता अकमकिए । केहीबेरमा उनै पाका नेताले भने, ‘सुवास नेम्वाङ हुन् ।’ नेकपाका संस्थापक नेता पुष्पलाल र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिर अंकित ब्यानरमुनि करिब चार घण्टा चलेको बैठकले प्रदेशहरूको संगठनात्मक संयोजनका लागि सातै प्रदेशमा संयोजकहरू तोकेको थियो । ती नेता त्यही विषयमा कुरा गरिरहेका थिए ।

एक नवनियुक्त केन्द्रीय सदस्य फोनमा कुरा गर्दै खानेपानीको व्यवस्थापन गरिएको ठाउँतिर पुगे । उनले फोनमा अरू कसैलाई भन्दै थिए, ‘प्रदेश सदस्य नै भइरहने हो त सधैंभरि ?’ सायद उताबाट त्यही हो भन्ने जवाफ आयो । उनले ‘लौ त’ भन्दै रिसाएर फोन राखे । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले गत ७ गतेको केन्द्रीय कमिटी बैठकबाट पछि स्वतः महाधिवेशन आयोजक कमिटी बन्ने गरी १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी व्यवस्था गरेका थिए । तीमध्ये ५ सय ५६ जनालाई त्यही दिन मनोनयन गरिएको थियो, १ सय ९६ स्थान खाली छ । त्यसमाथि मनोनयनमा परेका ५० भन्दा बढी नेताले ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने जनाइसकेका छन् । यो पृष्ठभूमिमा ती नेताले अर्को खेमाका प्रदेश कमिटी सदस्यलाई आफ्नो समूहको केन्द्रीय सदस्य बन्न प्रस्ताव गरेका हुन् ।

विवाद चर्किरहेका बेला नेकपाका बैठकहरू प्रायः बालुवाटारमै बसे । प्रधानमन्त्री निवासभित्र करिब सय मिटर पर बैठक कक्षमा बोलेको कुरा बाहिर सुन्ने सम्भावना हुँदैनथ्यो, तैपनि बालुवाटारको बैठक पत्रकारका लागि निर्मम भइरहेको थियो । तर बिहीबारको दृश्य बदलियो । गेटमा पुग्ने जुनसुकै नयाँ अनुहारले ‘बैठक’ मा आएको भन्दा सुरक्षाकर्मीले थप सोधपुछ गरेनन् । हेर्दाहेर्दै प्रधानमन्त्री निवास बालुवाटारको ठूलो चौर भरिभराउ भयो । सुरक्षाकर्मी र केही कार्यकर्ताबाहेक ५ सय हाराहारी नयाँ केन्द्रीय सदस्यहरू बैठकमा उपस्थित भएका थिए ।

नयाँ थपिएकैले होला, प्रधानमन्त्री ओलीले उनीहरूलाई शपथ गराउँदै भने, ‘सहिदहरूले देखेको रक्तरञ्जित सपना पूरा गर्नेछौं ।’ साविकको केन्द्रीय कमिटी सदस्यमध्ये १ सय १३ जना ओलीको पक्षमा खुलेको दाबी गरिएको छ । त्यसमा बिहीबार सचिवालय सदस्य रामबहादुर थापा बादल थपिए । ओली पक्षको विस्तारित केन्द्रीय कमिटीमा प्रायः जनप्रतिनिधिहरू नै छन् । कतिपय युवा र विद्यार्थी नेता पनि भेलामा सहभागी थिए । हालै केन्द्रीय सदस्य चुनिएका रश्मी आचार्य उत्साहसहित चुनावमा होमिनुको अर्को विकल्प नभएको बताउँदै थिए । यसअघि नै प्रतिनिधिसभा सदस्य रहिसकेका नेताहरू पनि उत्तिकै निराश थिए ।

विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य विशाल भट्टराई एक वर्षको मेहनतले जुटाएको पार्टी दुई अध्यक्षले क्षणभरमै टुटाएको भन्दै दुःखी देखिए । प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको बाध्यतामा भएको जिकिर गर्दै उनले भने, ‘तर ५ वर्षको म्यान्डेट लिएर आएको संसद् ३ वर्ष नपुग्दै भंग गर्नु जनताप्रतिको धोका, बेइमानी र छल हो ।’ बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्गठन हुँदैन भनेर ठोकुवा गरिदिएपछि यो समूहका नेता–कार्यकर्ता चुनावमा होमिने मनस्थितिसहित जिल्ला फर्कंदै छन् । तर पार्टी नेतृत्वको बेइमानीबारे जनतासँग तत्काल भन्ने कुरा उनीहरूसँग छैन । ‘अब जनतालाई के भन्नुहुन्छ त ?’ भन्ने पत्रकारको प्रश्नमा नेता सुवास नेम्वाङले भनेका थिए, ‘के भनेर जनतासमक्ष जान्छौं भन्ने कुरा तय भइसकेको छैन ।’

मञ्चमा बसेर भाषण गर्नेदेखि भर्खरै शपथ लिएका केन्द्रीय सदस्यसम्मले पार्टी एकताको दुहाइ दिन भने छाडेनन् । यही क्रममा पार्टी अझै एकीकृत छ भनिरहेका विजय सुब्बालाई ‘नेकपा फुटी–फुटी एकीकृत हो ?’ भनेर सोध्दा उनी मुसुक्क हाँसे र सही थापे ।

सहकर्मीको उछित्तो

ओलीपक्षीय नेकपाको तेस्रो केन्द्रीय कमिटी बैठक अभिमुखीकरण कार्यक्रमजस्तै थियो, मञ्चबाट नेताहरू बोलेको बोल्यै, तल बस्ने सुनेको सुन्यै । बैठकमा एक घण्टा नौ मिनेट भाषण गर्दा ओलीले ५० मिनेटभन्दा धेरै त आफूबाट अलग्गिएका सहकर्मीको उछित्तो काढेरै सके । अन्तिममा उनले पार्टीले गरेको निर्णय सुनाउँदै नेताहरूलाई चुनावमा होमिन निर्देशन दिए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेका रिट विचाराधीन छन् । तर ओलीले ढुक्कै भनिदिए, ‘संसद् पुनःस्थापना हुन्छ भनेर हुइँया मच्चाएका छन्, पुनःस्थापित हुँदैन । तपाईंहरूले चुनावको तयारी गर्नुस्, हामीले एक्लै दुई तिहाइ मत ल्याएर जित्नुपर्छ ।’ उनले २०५२ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दा पुनःस्थापना गर्ने बहाना भए पनि अहिले त्यस्तो नरहेको ठोकुवा गरे ।

प्रधानमन्त्री ओलीले संविधानको रक्षा, कार्यान्वयन र आवश्यक परे संशोधनका लागि पनि आफू तयार रहेको बताए । ‘पुष्पकमल दाहाल, जसको उपनाम प्रचण्ड पनि हो, उनी र माधव नेपाल मिलेर हामीलाई दुःख दिइरहेका छन्,’ उनले भने, ‘पद, पैसा र शक्तिका लागि राजनीति गरिरहेका दुई जनाको पछि लागेर गलत उद्देश्यको भरिया नबन्नुस् । यस घरको छानो, मझेरी र भित्तामा तपाईंहरूको परिश्रम छ । आउनुस् सँगै बसौं ।’ प्रधानमन्त्री ओलीले आफू गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा प्रतिबद्ध रहेको बताए । उनले संविधान ल्याउन भूमिका खेलेका कारण नाकाबन्दीको सामना गरिरहेको आफ्नो अघिल्लो सरकारलाई हटाउन लागिपर्नेहरू नै अहिले आफ्नो भूमिसहितको नक्सा जारी गर्दा त्यही खेलमा लागेको आक्षेप लगाए । ‘अतिक्रमित भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आक्षेप लगाइयो, नाकाबन्दी सामना गरेबापत घेराबन्दीमा पारिएको थियो,’ ओलीले भने, ‘जुन ठाउँमा भए पनि यिनै व्यक्ति झुत्तो बनाई कुनातिर गएर साउती गर्दै सरकार गिराउन लागेका छन्, यी व्यक्तिहरूले कस्तो बेला राजीनामा माग्छन् त्यो बुझ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कसैले लहडमा लागेर पार्टीको पहिलो अध्यक्षलाई निकाल्न नसक्ने बताए । ‘प्रथम अध्यक्षमाथिको स्पष्टीकरण चेस खेल्दा हात्ती निलेजस्तै हो, हात्ती र घोडालाई चेसमा मात्रै निल्न सकिन्छ तर यो राजनीति हो,’ उनले भने । उनले नेकपाको दाहाल–नेपाल पक्षले आन्दोलन समिति गठन गरेकोप्रति पनि कटाक्ष गरे । ‘नारायणकाजी श्रेष्ठ जसको जनयुद्ध र जनआन्दोलनमा कुनै भूमिका थिएन, प्रचण्ड र बादल सार्वजनिक भइसक्दा पर्दाभित्र अन्तर्वार्ता दिन्थे, उसैको नेतृत्वमा आन्दोलन रे, कठैबरा,’ उनले भने, ‘खुट्टी देख्दै पत्याइयो ।’ उनले आफ्नै पार्टीका नेताहरूले पटक्कै काम गर्न नदिएपछि नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको बताए ।

नेम्वाङले टारेको त्यो प्रश्न

ओली खेमाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ संविधानसभाको दुवै कार्यकालमा अध्यक्ष भएका हुन् । २०४८ देखि निरन्तर सांसद भइरहेका उनले संसद्का राम्रा नराम्रा सबै अभ्यास अनुभव गरेका छन् । ‘संविधानसभा कालमा एउटै पार्टी १२ पटकसम्म फुट्यो, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइरहने र असमयमै संसद् विघटन भइरहने भएकाले प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार संविधानबाट कटौती गर्‍यौं,’ केही महिनाअघि कान्तिपुरसँग उनले भनेका थिए, ‘स्थिर राजनीतिक व्यवस्थाका लागि यसो गरिएको हो ।’ नेकपाको विवाद चर्किंदै जाँदा प्रधानमन्त्री ओलीले ‘प्रतिनिधिसभा विघटन गर्न कागजपत्र तयार पारेको छु’ भनेर सहकर्मीलाई भनेका खबर बारम्बार आइरहन्थे, त्यतिबेला नेम्वाङले भनेका थिए, ‘संविधानमै नराखिएको अधिकारको प्रयोग कतैबाट पनि सम्भव छैन ।’ उनै नेम्वाङ बिहीबार आफैं असंवैधानिक भनेर व्याख्या गरेको कदम चालेर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीका साथमा मञ्चमा थिए ।

नेम्वाङलाई कान्तिपुरले ‘पहिला तपाईंले संविधानमा संसद् विघटन गर्ने व्यवस्था छैन भनेर बारम्बार भन्नुहुन्थ्यो, त्यसरी हुँदै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेर संसद् विघटन गर्दा तपाईं प्रधानमन्त्रीकै पक्षमा हुनुहुन्छ र संविधानसभाको अध्यक्ष पनि हो, तपाईंको भनाइ के छ ?’ भनेर सोधेको थियो । तर उनले टारे । बरु प्रतिनिधिसभा विघटन गर्ने स्थिति किन आयो भन्ने उल्लेख गर्दै उनले आफू अहिले त्यसतर्फ जान नचाहने बताए ।

‘अहिले साह्रै अपवादको अवस्थामा बहुमतको संसद्लाई काम गर्न दिइएन भने त्यतिबेला के गर्ने त भन्ने प्रश्न उठेको छ, अहिले म अन्यथा भन्न चाहन्नँ,’ नेम्वाङले भने, ‘यो प्रश्नलाई लिएर सम्मानित सर्वोच्च अदालतले एउटा निष्कर्ष दिनुपर्ने बेला भएको छ । त्यसका लागि पत्याएको ठाउँ भनेको सर्वोच्च अदालत नै हो । म पनि सर्वोच्च अदालतलाई पर्खेर बसेको छु ।’ तर उनले पनि प्रधानमन्त्रीले झैं प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले समर्थन गर्ने ठोकुवा गरे ।

वादलको ‘विलय’

रामपुर कृषि क्याम्पस चितवनमा पढ्दै गर्दा दुई युवाले नारायणी किनारमा बसेर राजनीतिक परिवर्तनका गफ धेरै गरे, आगामी बाटो पर्गेले र पञ्चायत पतन गराउन भूमिगत राजनीति थाले । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका तिनै पुष्पकमल दाहाल र रामबहादुर थापाबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।

यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा (बादल) बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो ।

उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए ।

दुवै खेमाको तानातानमा परेका थापालाई बिहीबार बिहानको भेटपछि ओलीले फकाउन सफल भएका हुन् ।

पार्टी उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर उनी एक्लै ओलीको खेमामा गएका छन् । साढे २ वर्षसम्म थापाको राजनीतिक सल्लाहकार भएका सूर्य सुवेदीले समेत राजनीतिक र नैतिक दृष्टिले उनलाई साथ दिन नसकेको बताए । उता बालुवाटारको मञ्चमा थापाको गडगडाहड अर्कै थियो ।

केही दिनअघि आफू निकट नेताहरूसँग प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेका थापाले बिहीबार त्यसको विरोध गर्नेहरूलाई प्रतिगामी भनिदिए ।

‘एकाथरी प्रतिनिधिसभा विघटन गर्नुलाई पश्चगमन भन्छन्,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन अग्रगामी र क्रान्तिकारी कदम हो, अब हामी मध्यावधि चुनावबाट दुई तिहाइ मत ल्याउँछौं ।’ उनले दाहाल–नेपाल पक्षका नेताहरू पार्टी फुटाउन भनेर कसम नै खाएर लागेको बताए । ‘उहाँहरूले पार्टी फुटाउने आकांक्षा पार्टी प्यालेसमा बैठक बसेर पूरा गर्नुभयो,’ थापाले भने, ‘अब उहाँहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने रणनीतिमा हुनुहुन्छ, त्यसैका लागि खुफिया एजेन्सी प्रमुखहरूसँग भेटिरहनुभएको छ ।’

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु