३० वैशाखमा सम्पन्न निर्वाचनको भन्दा मंसिर ४ गतेको निर्वाचनमा झापामा सुरक्षा व्यवस्था परिवर्तन

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असोज मेचीनगर : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै झापामा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत नै संयुक्त रूपमा परिचालन गरिने भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ्ग मनोनयन दर्ता गर्नेक्रममा

झापा जिल्लामा ‘हाई प्रोफायल’ भएका व्यक्तिहरुको उम्मेद्वारी परेकाले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा व्यवस्थामा अलि परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

प्रतिनिधिसभाकालागि झापाको निर्वाचन क्षेत्रनम्बर ५ बाट पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, ३ नम्बर क्षेत्रबाट पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन, १ नम्बरबाट पूर्व कानुन मन्त्री तथा महान्याधिवक्ता अग्निप्रसाद खरेल र नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उम्मेद्वारी परेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

एमाले नेता अग्नी खरेल र रबिन कोइराला मनोनयनका क्रममा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँले आगामी निर्वाचनका लागि म्यादी प्रहरी समेत परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्थलको सुरक्षाको अवस्था हेरी १२ देखि १८ जनाको रिजर्व फोर्स आवश्यक मतदान स्थलमा तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ । यसबाहेक निर्वाचन सुरक्षाका लागि चौबिसै घण्टा मोबाइल गस्तीमार्फत सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएकोे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बशन्त पाठकले निर्वाचनमा नेपाल र म्यादी प्रहरी गरी जिल्लामा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो । यसका लागि म्यादी प्रहरीको नियुक्ती प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यो सँगै नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेत परिचालन हुने बताइएको छ । उम्मेद्वारहरुको मनोनयन शुरु भए लगत्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी शान्तिसुरक्षा प्रभावकारी बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । निर्वाचनमा सहभागी राजनीतिक दलबीच चुनावी अभियानका क्रममा हुन सक्ने सम्भावित कुराहरुलाई ध्यानमा राखिएको छ । निर्वाचनमा मनोनयन दर्ता गरेका राजनीतिक दलको चुनावी अभियान र चुनावी सभा एकै स्थानमा नपर्ने गरी व्यवस्था मिलाउनसमेत सुरक्षाकर्मी लाग्ने छ ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता दलले उल्लंघन गरे नगरेको हेर्न अनुगमन टोली परिचालन गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा ७ सय ६६ मतदान स्थल र २ सय ८५ मतदान केन्द्र रहेका छन् । आगामी निर्वाचनमा सुरक्षाको दृष्टिले झापाका मतदान स्थललाई तीन किसिममा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँका अनुसार २ सय ७१ वटालाई अति संवेदनशील ३ सय ८१ वटालाई संवेदनशील र १ सय १४ मतदान स्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ । सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील तथा समान्य अवस्थाअनुसार सुरक्षकर्मी परिचालन हुने छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा ३ लाख ३१ हजार ४४ जना पुरुष ३ लाख ३२ हजार २ सय ५९ महिला तथा ८ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा झापाबाट प्रतिनिधि सभा सदस्यका ५ वटा क्षेत्र र प्रदेश सभा सदस्यका १० वटा क्षेत्रको लागि प्रतिनिधि सभा सदस्यकालागि ८ महिलासहित १ सय १ र प्रदेशसभा सदस्यका लागि १० महिलासहित १ सय ६ जनाले २३ असोजमा मनोनयन दर्ता गराएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्गदेन

झापाको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृत टंकबहादुर महतका अनुसार प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य ‘ख’ मा स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गानाईजेशनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य ‘क’ मा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गानाइजेशन र मौलिक जरोकिलो पार्टीले उम्मेद्वारी दिएको छ ।

प्रदेश सभा सदस्य ‘ख’ मा राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, स्वतन्त्र, राष्ट्रि जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समेत उम्मेद्वारी मनोनयन गराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.