२३ कात्तिक, मेचीनगर : बुधवार मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालाले नेकपा एमाले वृद्धभत्ता सुरुवात गर्ने पार्टी भएकोले वृद्धवृद्धालाई एमालेले जति अरु कसैले नहेर्ने जिकिर गर्नु भएको छ । जेष्ठ नगरिक मतदाता ७६ वर्षीय टीकाराम दाहालको हातबाट आशिवार्द लिदै एमालेका नेता समेत रहेका कोइरालाले उहाँ (कमरेड मनमोहन) ले रोपेकै विरुवा अहिलेसम्म फल्दै गरेको बताएका छन् ।
स्थानीयले उम्मेदवार कोइरालालाई आर्शिवाद, माला र टीका लगाईदिएर जीतको अग्रिम शुभकामना दिएका थिए ।
एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला १०० रुपैयाँबाट सुरु गरेको वृद्वभत्ता अहिले ४ हजार पुगेको छ । अब फेरि एमालेको बहुमतको सरकार बने ५ हजार पुग्ने एमालेको घोषणा पत्रमा सार्वजनिक गरिसकेको छ ।
स्थानीयबासीले नदिकटान, सडक कालोपत्र, टिमाई नहरको व्यवस्थापन, सिञ्चाई, सुकुमबासी, जन्मसिदको नागरिकता लगायतका समस्याहरुका विषयमा उम्मेदवारलाई गुनासा पोखेका थिए ।
मेचीनगर–१५ को नहर टोल, कैयाटोली, भाङगोला, कँछुबारी, ग्याङबारी, रघुविरबारी, लालझोडा, ख्यामका चिया वगानका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिकका उम्मेदवार भीम खवास, नेकपा एमाले मेचीनगर–१५ को निर्वाचन परिचालन कमिटीका संयोजक चेतन विष्ट, सन्तोष आचार्य, शुशिल आचार्य, कोटिया राजबंशी, इन्द्रप्रकाश बाँस्कोटा, गोविन्द गिरी, गंगा श्रेष्ठ, कुस्मी चौधरी, चेतबहादुर राउत, पदम गौतम, टीका ढकाल लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

























