काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको शुक्रबार सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेसँग उनको सांसद पद र सम्हालेको पद गएको हो ।
पार्टीका एक नेताले बाह्रखरीसँग आफूहरु अहिले स्तव्ध भएको जानकारी दिए ।
रवि स्वयमले यसअघिको बैठकमा आफ्नो पद जान सक्ने भन्दै कसरी अघि बढ्ने रणनीति बनिसकेको उनले जानकारी दिए ।
“उहाँले हामीलाई आजको अवस्था आउनसक्छ भनेर पार्टी बैठकमा भनिसक्नुभएको थियो । हामी पचास पचास प्रतिशतको अवस्थामा थियौं,” पार्टीका एक नेताले बाह्रखरीसँग भने, “कानुन र अदालतको निर्णय मान्नुको विकल्प छैन । अब विश्लेषण गरेर अघि बढछौं । अहिले हामी एकदम स्तव्ध छौं ।”
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेपछि पार्टीभित्र राजनीतिक संकट छाएको हो ।
अमेरिकी नागरिक भएका लामिछाने २०७० सालमा भिषा लिएर नेपाल आएका थिए ।
०७२ सालमा नेपालको पुरानो नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएका लामिछानेले अमेरिकी नागरिकता भने ०७५ साल असार ६ गते मात्र परित्याग गरेका थिए ।
तीन वर्षसम्म लामिछानेले अमेरिका र नेपाल दुवैतर्फको पासपोर्ट राखेका थिए ।
नागरिकता परित्याग पछि पनि उनले नेपालको नागरिकता प्राप्तिका लागि प्रक्रिया अघि बढाएका थिएनन् ।
उनले नयाँ नागरिकताको प्रक्रिया नै नचलाई राजनीतिक दल खोलेर चुनाव लड्न गएपछि मात्र उनको नागरिकता नै वैध नरहेको भन्दै उजुरी परेको थियो ।
त्यसमा निर्वाचन आयोगले सुनुवाइ नगरेपछि अधिवक्ताहरु रविराज बसौला, युवराज पौडेलसहितले रिट दायर गरेका थिए ।
सर्वोच्चले रिट निवेदकको पक्षमा फैसला गरेपछि रविको पद गुमेको हो ।
“उमेदवारी खारेजीको माग गर्दै उजुरी पर्दा पनि उहाँले कानुनको सम्मान गर्नुभयो । शपथ ग्रहणको समयमा पनि अवरोध आउँदा उहाँले कानुनलाई मान्नुभयो । अहिले पनि कानुनलाई मान्नुको विकल्प हामीसँग छैन,” उनले भने, “यसको विश्लेषण समयसँगै हुँदै जाला । आफैलाई र कोर्स करेक्सन गर्न बाहेक हामीसँग अर्को विकल्प छैन ।”
अब कसरी पार्टी अघि बढ्छ भन्ने विषयमा ती नेताले चाँडै छलफल गरेर रणनीति सार्वजनिक गरिने बताए ।
साभार: बाह्रखरीबाट