चितवन । पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएको भन्दै प्रचण्ड-नेपाल पक्षले विरोध गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो ।

सोमबार एकै समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड-नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।
प्रचण्ड-नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ।
























