Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारविद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी

विद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी

काँकरभिट्टा । मुगुको छायानाथ–रारा नगरपालिका– २ तलितुम गाउँस्थित छायाक्षेत्र आधारभूत विद्यालय प्राङ्गणमा आगो बालेर पठनपाठन सुरु गरिएको छ ।  हिउँ परेपछि अत्यधिक चिसो बढेसँगै विद्यार्थीलाई जोगाउन आगो बाल्नु परेको विद्यालयका प्रधानाध्यापक  मीनबहादुर बुढाले बताए ।

 

केही दिनयता प्रधानाध्यापक बुढा पठनपाठन गर्नुअघि विद्यालयमा आगो बाल्दै आएका छन् । जिल्लाका अन्य विद्यालयमा पनि यस्तै अवस्था छ । कतै कक्षाकोठामा त कतै कक्षाबाहिर आगो बाल्ने गरेको बुढाले बताए  ।

हिमपातसँगै चिसो सिरेटो चल्न थालेपछि  मुगुको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेन्टिग्रेडमा झरेको छ । कक्षा पाँचसम्म पढाइ हुने छायाक्षेत्र आधारभूत विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । तीनजना मात्रै शिक्षक भएकाले दुई–तीन कक्षाका विद्यार्थीलाई सँगसँगै राखेर पठनपाठन गरिँदै आएको छ । मंगलबार कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै गर्दा उनले पनि पटकपटक आगोमा हात सेकेको बताए ।

हिमाली जिल्ला मुगुमा विगतका वर्षहरूमा हिउँदका दिनमा हिउँ र पानी पर्न थालेपछि विद्यालय बन्द गरिन्थ्यो । यसपटक भने कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि विद्यालय बन्द थिए । सहरी तथा सुगम क्षेत्रका विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन भएको थियो । तर, टेलिफोनमा कुराकानी गर्नसमेत समस्या हुने मुगुमा वैकल्पिक विधिबाट पठनपाठन हुन सकेन ।

आइतबारदेखि मुगुलगायत कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मंगलबार पनि हिमपात भएको छ । उच्च भेगमा हिउँ जमेर बाटोघाटो पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । उच्च भागमा हिउँ परेकाले बेसीतिर पनि चिसो सिरेटो चल्ने गरेको छ । जसले तापक्रम माइनसमा झर्न थालेको हो ।

चिसोले यहाँको जनजीवन पनि प्रभावित भएको छ । स्थानीय बासिन्दा पनि बिहान र साँझ आगो ताप्ने गरिरहेका छन् । आफूहरू घरभित्रै बसे पनि बस्तुभाउलाई चरन र मेलापात गर्न समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन् । ‘तीन दिनदेखि मेलापात गर्न गाह्रो भएको छ,’ उनले भनिन् ।

मुगु सदरमुकाम गमगढीलगायत बजार क्षेत्रमा पनि दिउँसै आगो बाल्न थालिएको छ । चिसोले सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयमा पनि सेवाग्राही आउने गरेका छैनन् ।

( समाचार : विभिन्न संचार माध्यमबाट )

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु