३० कात्तिक मेचीनगर : दुई ठुला र महत्वपूर्ण चाड दशैं र तिहारको अन्त्यसँगै छठ पर्वको चहल पहल शुरु भएको छ । चारदिनसम्म चल्ने छठ पर्व शुक्रबार (भोली) बाट विधिवतरुपमा शुरु हुर्दैछ । छठ पर्व कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट शुरु भई सप्तमी तिथिमा बिहान सूर्यलाई अर्घ दिएर समाप्त हुन्छ । अहिले झापासहित तराई मधेसका विभिन्न जिल्लामा छठको विशेष रौनक छ । नदी, पोखरी र खोला किनारहरुमा छठ घाट तीब्ररुपमा निर्माण गरिदैं छ । ती घाटहरु झकिझकाउ छन् । छठीमाताको भक्तिगानले गुज्जिने छन् । छठपूजाको महत्वलाई बुझेर नियमसँगले यसको व्रत बसेर पूजा गर्न सके निःसन्तानले सन्तान प्राप्त गर्न सक्ने, आफ्नो परिवारमा सुःख शान्ति समृद्घि मिल्ने तथा चर्म सम्वन्धी रोगको अन्त्य हुने र आफूले चाहेको मनोकाँक्ष पुरा हुने जनविश्वास रहि आएको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्वको ब्रत आइतबार परेको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी छठ पर्व मनाउने गरिन्छ ।

छठ पूजा समिति धुलावारीका निवर्तमान अध्यक्ष शिवशंकर शाहका अनुसार मेचीनगरको निन्दा नदीमामात्र ३ देखि साढे तीनसय पूजाघाटहरु धमाधम निर्माण भइरहेका छन् । ती सवै घाट हरेक वर्ष समितिले आफै निर्माण गर्दै आएको शाहाको भनाई छ । नेपाल भारतलाई छट्टयाउने मेची नदीमा संयौ पूजाका घाट बनाइएको छ । मेची नदीको पूर्वतर्फ भारतीय र पश्चिमतर्फ नेपालका ब्रतालुहरुले पूजापाठ गर्ने गरेका छन् । जिल्लाका विभिन्न स्थानमा छठपूजा सम्पन्न गर्न विभिन्न संघ संगठन गठन गरिएको छ । ती संघ संगठनले राती जाग्राम बस्ने ब्रतालुहरुका लागि विद्युत, टेण्डलगायतको उचित व्यवस्थापन गर्ने गर्दछन् । मेचीनदीकै भद्रपुरतर्फ भारतको बंगाल विहार राज्य र नेपालतर्फका धर्मालम्वीहरुले पूजाआजा गर्दछन् । घाट निर्माण भएका नदीहरुमा पूजाघाट व्यवस्थापनदेखि सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती, शौचालय सूर्य भगवानको मूर्ति राख्ने स्थान, स्वास्थ्य शिविर,अस्थायी सुरक्षा क्याम्पको समेत व्यवस्था गरिएको हुन्छ ।
छठको पहिलो दिनलाई भोजपुरी भाषामा ‘नहाय खाय’ अर्थात ‘नुहाएर खानु’ भनिन्छ । नहाय खायको दिन महिलाहरु आँपको दतिउनले दाँत माझ्ने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्ने निवर्तमान अध्यक्ष शाहाले बताउनुभयो । पहिलो दिन व्रतालुले लसुन, प्याज र मुसुरोको दाल खाँदैनन् । यसदिन अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्ने धार्मिक मान्यता रहिआएको छ ।
शनिबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँने चलन रहेको मधेशी समूदायका अग्रज लक्षेन्द्रप्रसाद यादव बताउनुहुन्छ । उक्त ‘रसीआव रोटी’ चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् । जतिवटा अर्घ दान गर्ने हो, त्यति ठाउँमा केराको पातमा राखेर छठीमातालाई नैवेद्य चढाउने कााकरभिट्टाका बैद्यनाथ ठाकुरको भनाई छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान, सुपारी आदि राखिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
विगत ९ वर्षदेखि मेची नदीमा घाट बनाएर यो पूजा गर्दै आउनु भएका महेन्द्रप्रसाद झाका अनुसार छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सूर्यसँग आफूले चिताएको कुरा माग्छन् । भाकल गरेकाहरुले त्यस दिन घरमा आएर छठी मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् । यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ । यो मंसिर ३ गते आइतबार परेको छ । छठ पर्वमा सूर्यलाई अर्घ दिने र उक्त समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्री अर्पण गर्ने ब्रतालुहरुको भनाई छ ।

छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ । सप्तमी तिथिको उदाउँदो सूर्यलाई जलाशयमा गई अर्घ दिएर प्रार्थना गर्छन् । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्व छठमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको झापा मेचीनगर— १० का कैलास खड्काको भनाई छ । निन्दा मेचीलगायतका नदीमा मधेशी, मारवाडी, पहाडेलगायत सवै समुदायले सामूहिकरुपमा पूजा गर्ने गरेका कारण माग अनुसारको पण्डाल निर्माण गरिएको शाहाको भनाई छ ।
हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुईपटक कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने भए पनि कात्तिक महिनाको छठ पर्वको विशेष महत्व रहि आएको देवेन्द्र मण्डलको भनाई छ । मधेशी थारु समुदायले मात्र मनाईरहेको छठपर्व अहिले सवै समुदायले मनाउने गरेका छन् । छठपर्व प्रति सर्वसाधारणको आस्था र विश्वास बढिरहेकाले पनि यो पर्व भाइचारा र सद्भावको अनुपम उदारहण बनेको धुलावारीका लक्षेन्द्रप्रसाद यादव बताउँनुहुन्छ । पछिल्लो समयमा आएर पहाडी समुदायले समेत छठपर्व मनाउने गरेको ओमकृष्ण ठाकुरको भनाई छ ।
छठका कारण केराको मूल्य आकासियो


























