काठमाडौं ।प्रहरीको गोली लागेर घाइते भएका अविनास राईसँग प्रहरीले पेस्तोल र लागुऔषध बरामद गरेको छ।
मंगलबार दिउँसो ललितपुरको झम्सीखेलमा प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको हो।
उनको साथबाट दुईवटा गोलीसहितको पेस्तोल र करिब आधा किलो आइसड्रग बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको हो,’ उनले भने, ‘उनको तिघ्रामा गोली लागेको छ, उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।’
उदयपुर घर भएका ४५ वर्षीय राई आइसड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो। बरामद लागुऔषधको अवैध बजार मूल्य करिब ५५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

























