२२ पौष, झापा : चालु आर्थिक वर्ष २०८०/०८१ को पुस तेस्रोसातासम्म झापामा १ सय २२ ठाउँमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाका १५ वटा पालिकाका विभिन्न ठाउँमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ , भने ३ करोड ५६ लाख ३० हजार ७ सय रुपैयाँ मुल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साउनमहिनादेखि पुस २१ गतेसम्म जिल्लाका सवै पालिकाका विभिन्न स्थानमा आगलागीका घटना भएका छन् । जुन घटनामा परी ११ जना घाइते भए । ५ हजार ५ सय २० वटा चौपाया मरेका छन् भने ६ वटा चौपाया घाइते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
आगलागीमा परेर जिल्लामा पूर्ण र आंशिकरुपमा २९ वटा घर जल्दा १ करोड ३९ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । यसैगरी, ८ वटा भान्सा घर जल्दा ११ लाख ३५ हजार र २२ वटा गोठघर जल्दा १ करोड २८ लाख ६६ हजार रुपैयाँको क्षति भएको प्रहरीको भनाई छ ।
पुस २१ गतेसम्म जिल्लाका विभिन्न स्थानमा भएका आग्लागीमा ५ वटा सवारी साधनमा क्षति पुगेको छ । ५५ लाख रुपैयाँ नोक्शान भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो । ४९ वटा परालको कुन्युमा आगलागी हुदाँ ३० लाख २२ हजार २ सय रुपैयाँको क्षति भएको छ । विभिन्न प्रकारका ३ वटा उद्योगमा भएको आगलागीमा ३५ लाख रुपैयाँको क्षति पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ । अन्य ४ वटा आगलागीका घटनामा ६ लाख रुपैयाँ क्षति पुगेको छ ।
प्रहरीका अनुसार यो अवधिमा सवैभन्दा बढी मेचीनगर नगरपालिकामा २१ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट ५९ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ । घटनामा परेर ५ वटा घर पूर्ण तथा आंशिकरुपमा जल्दा १६ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिमाथि क्षति पुगेको प्रहरीले जनाएको छ । एउटा चौपाया मरेको छ भने ३ वटा घाइते भएका छन् ।
मेचीनगरमा भएको आगलागीमा ५ वटा गोठघर जलेर नष्ट हुदाँ १२ लाख ५० हजार रुपैयँँको क्षति भएको छ । २ वटा सवारी साधन जल्दा १ लाख ५० हजार रुपैयाँ क्षति हुन गयो । ९ वटा परालको कुन्यूमा आगलागी हुँदा ३ लाख ६६ हजार, एउटा उद्योगमा आगलागी हुँदा २५ लाख रुपैयाँको क्षति पुगेको छ ।
प्रहरीका अनुसार अर्जुनधारा, कन्काई नगरपालिका तथा हल्दिवारी र बुद्घशान्ति गाउँपालिकामा ४÷४, भद्रपुर नगरपालिकामा १४, विर्तामोड नगरपालिकामा १६, शिवसताक्षँी नगरपालिकामा ७, दमक नगरपालिकामा ८, गौरादह नगरपालिका र झापा गाउँपालिकामा ९/९, कमल र गौरीगञ्ज गाउँपालिकामा ६/६, कचनकवल र बाह्रदशी गाउँपालिकामा ५/५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । धेरैजसो घटना विद्युत् सर्टका कारण भएको पाइएको छ ।
जिल्लाका अधिकाँश घरमा आगलागी हुँदा लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्णरुपमा जलेको प्रहरीको भनाई छ । विद्युत सर्ट, बालबालिकाले परालको कुन्यू नजीकै खेल्दा, परालको भुस बाल्दा,जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने गरेका कारण अधिकाँश स्थानमा आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।
२०८० साल मंसिर २२ गते मेचीनगर —९ मा केटाकेटीले खेल्दैं गर्दा स्थानीय टंक उप्रेतीको तीनवटा धानको कुन्यूमा आगालागी भएको थियो । आगलागीका कारण धानको कुन्यू जलेर नष्ट भएको पीडित उप्रेतीले जानाकरी दिनुभयो । २०८० साल मंसिर १६ गते झापा मेचीनगर —८ का टीकाराम धमलाको डेढ विगाहको पराल र टिनको छानो भएको गोठघरमा आगालगी भएको थियो । परालको कुन्यू नजीकै आगो बालेको र पराल गोठघरमा थन्क्याउने क्रममा भएको आगालगीको घटनामा धमलाको गोठघर समेत जलेर पूर्ण रुपमा क्षति भएको मेचीनगर—८ नम्बर वडा सदस्य कुन्दन निरौलाले जानकारी दिनुभयो ।



























