३१ भदौ, मेचीनगर : झापाको मेचीनगर —१३ स्थित चारआलीमा रहेको सर्प दंश उपचार केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । यसको तयारी समेत भईसकेको बताइएको छ । केन्द्रका सञ्चालक सदस्य हिरा पोखरेलका अनुसार यसका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्माको नेतृत्वमा यसक्षेत्रमा पाईने विषालु र सामान्य प्रकारका सर्पहरुको अनुसन्धान गर्न जेनेभाबाट अनुसन्धानकर्ताहरु सर्प दंश उपचार केन्द्रमा अनुसन्धानका लागि आएर एकवर्षसम्म अनुसन्धान गरी त्यसको प्रतिवेदन समेत नेपाल सरकारमा बुझाइ, विश्व स्वास्थ्य संगठनमा समेत यस क्षेत्रको स्वास्थ्य अवस्थाको प्रतिवेदन पेश भएको थियो ।
जेनेभाबाट आएको अनुसन्धानकर्ताहरुको टोलीले यस सर्प दंश उपचार केन्द्रलाई केही उपकरण सहित एन्टी स्नेक भेनम सिरम र एकवर्षभित्रमा बिषालु सर्पको टोकाईबाट बिरामी भएका बिरामीहरुले बुझाउनुपर्ने न्यूनतम शुल्क समेत उपलब्ध गराएको थियो । पोखरेलका अनुसार सर्प दंश उपचार केन्द्र सञ्चालन व्यवस्थापन समितिको हालै सम्पन्न २० औँ साधारणसभाले समेत केन्द्रलाई यसक्षेत्रमा पाईने विषालु र सामान्य प्रकारका सर्पहरुको अनुसन्धान गर्न अनुसन्धान केन्द्रकारुपमा विकास गर्ने प्रस्ताव अघि सारेको थियो । प्रस्तावप्रति सवैको सकरात्मक धारणा आएपछि केन्द्रले केन्द्र वरिपरीका मेचीनगर, विर्तामोड, भद्रपुर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति तथा हल्दिवारी गाउँपालिका गरी छ वटा पालिकाका प्रमुखहरुसहितको सल्लाहकार समिति निर्माण गरिएको छ ।
केन्द्रबाट २०६२/०६३ देखि २०८०/०८१ सम्म २० हजार एकसय २५ जना बिरामीले सेवा लिएका छन् । बिषालु सर्पको टोकाईबाट बिरामी भएका नौ सय १० जना मध्ये हालसम्म ३० जनाको मृत्यु भएको र आठ सय ८० जना बिरामीहरु बाँच्न सफल भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । आठ हजार नौसय ६ जना पुरुष, आठ हजार तीनसय महिला दुईहजार नौ बालबालिका गरी कुल १९ हजार दुई १५ जनालाई सामान्य सर्पले टोकेको, तीन सय ९३ पुरुष, तीनसय ९२ महिला र ९५ बालबालिका गरी कुल आठ सय ८० जनालाई विषालु सर्पले टोकेको र ३० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
यस उपचार केन्द्रमा सर्पको टोकाईबाट झापा, मोरङ, सुनसरी, पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ। पाचथर, इलाम, तेह्रथुम, धनकुटा,लगायत सीमावर्ती भारतको पश्चिम बंगालको शिलीगुढी, नक्शलबाडी,, खोरीबारी, बतासी, अधिकारीसहित विहार राज्यको गलगलिया, ठाकुरगञ्ज, डिगल बैंकक्षेत्रबाट समेत उपचारका लागि आउने गरेको अध्यक्ष दुर्गाप्रसाद भट्टराईको भनाई छ ।
नेपालमा पाइने ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु हुन्छन् । सर्प र सर्पदंश विषयमा विद्यावारिधि गर्दै रहेका अनुसन्धानकर्ताहरुका अनुसार विषालु सर्प अन्तर्गत गोमन, करेत र भाइपर गरी तीन किसिमका हुन्छन् । विषालु सर्प सामान्य सर्प भन्दा हिंस्रक स्वभावका हुन्छन् । सर्पको स्वभाव प्रजाति अनुसार भिन्न हुन्छ । विषालु करेत सर्पले न्यानो र तातो ठाँउ मन पराउने भएकाले यो सर्प प्रायः मानिसको नजिक आउन खोज्छ । यो सर्प दिउँसोभन्दा रातीको समयमा बढी सक्रिय हुन्छ ।
यसको मुख्य खाना मुसा हो भने यसले राती शिकार गर्ने गर्छ । शरीर कालो, सेतो, पहेंलो, टाटेपाङग्रे हुन्छ । गोमन प्रजातिमा राज गोमन जातको सर्प जंगलमा बस्छ भने गोमन सर्पको पछाडि चश्मा आकारको चिन्ह हुन्छ । भाइपर जातिको सर्प मानिसको सम्पर्कमा त्यति आउँदैन । यसको बासस्थान जंगल हो । यसको ज्यान भुट्टेदार हुन्छ । यो विभिन्न रंगको हुन्छ ।
सर्प विशेषज्ञ समेत रहनु भएका डाक्टर शर्माका अनुसार अहिले गर्मीसँगै वर्षातको समय हो । तराईमा सर्पको टोकाइबाट धेरैको मृत्यु हुने गरेको छ । कतिपयले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको छ । हामी कतिपयलाई तराईमा सर्प विषालु हुने तर पहाडका सर्पको विष नलाग्ने भन्ने भ्रम छ। पहाडका सर्प विषालु हुँदैनन् भन्ने कुरा एकदमै गलत हो । तराईमा पाइने मुख्य सर्प भनेको गोमन र करेत प्रजातिका हुन् । गोमनमा पनि फरक–फरक प्रजाति हुन्छन् । हामी कालो गोमन, सेतो गोमन, चस्मावाला, आँखावाला भन्छौं । करेतका पनि त्यस्तै ६ वटा प्रजाति छन् ।
यी मध्ये एउटा प्रजाति हिमालयन करेत जुन उच्च हिमाली क्षेत्रमा पाइन्छ । त्यो निकै विषालु हुन्छ । जसले डस्यो भने समयमै उपचार नपाए ज्यान पनि जान सक्छ । तर, हिमालयन करेतले हत्तपत्त डस्दैन।
‘पहाडका सर्प विषालु हुँदैनन् भन्ने कुरामा म सहमत छैन ’सर्प विशेषज्ञ डाक्टर शर्माले भन्नुभयो—‘ पहाडमा पाइने हरियो सर्पले पहिले पहिले डसेर रगत बगेको भन्ने कुरा थाहा हुँदैन थिया े। तर, अहिले हामीले पहाडको हरियो सर्पले टोकेर पनि रगत पातलो हुने, रगत घट्ने, विभिन्न अंगहरुबाट रगत बग्ने र मृर्गौला समेत बिग्रन सक्ने अवस्था देखिएको छ ।’
सर्पले डसेको ठाउँमा विष लागेको छ भने त्यो ठाउँ सुनिन्छ । त्यसमा पानी फोकाहरु निस्कन्छन् । त्यो ठाउँ कुहिन सक्छ । विष रगतमा गएर शरीरमा फैलने र स्नायुतन्त्र वा रक्तसञ्चारमै असर गर्न सक्छ ।
रगत पातलो भएर रगत बग्ने, शरीरमा रगत कम हुने, धेरै रगत बगेर रक्तचाप कम भएर मृगौलालाई असर गर्ने जस्ता असर पनि हरियो सर्पले टोक्दा देखिन थालेको छ ।
नेपालमा सर्पले टोकेको ८० प्रतिशत बिरामी अस्पताल नै नपुग्ने डाक्टर शर्माको अनुभव छ । डसेको ठाउँमै मर्छन् या त बाटोमै ल्याउँदा ल्याउँदै उनीहरुको ज्यान जान्छ । त्यसैले नेपालमा सर्पको टोकाइबाट कति जनाको ज्यान जान्छ ? कतिलाई टोक्छ? भन्ने एकिन अभिलेख छैन ।
भारतमा भएको एउटा अध्ययनले त्यहाँ वार्षिक ५० हजारभन्दा बढीकोे मृत्यु सर्पले डसेर हुने गरेको देखाएको उहाँ बताउनुहुन्छ । त्यहाँको विवरण अनुसार ९७ प्रतिशत बिरामीको अस्पताल नपु¥याएर वा बाटोमै मृत्यु भएको देखिएको छ । जस्तै, गोमनले डसेर विष लाग्यो भने आधा घण्टादेखि विषले काम गर्न थाल्छ । र, विस्तारै शरीरमा फैलिन्छ ।
पछि स्नायुतन्त्र बिग्रेर स्वासप्रस्वास रोकेर मानिसको मृत्यु हुन्छ । त्यो बिरामीलाई बढीमा आधा घण्टाभित्रै अस्पताल पु¥याएर विष प्रतिरोधक औषधी दिनसक्यो भने मात्रै बचाउन सकिन्छ । तर, उक्त समयभित्र अस्पताल पु¥याउन नसक्दा विष शरीरमा फैलिएर बिरामीको मृत्यु हुने गरेको छ । तसर्थ, सर्पको टोकाइबाट बच्न सबैभन्दा पहिला गर्ने काम भनेकै जतिसक्दो छिटो अस्पताल पु¥याउने नै हो ।
टोकेको ठाउँमा बाध्ने, खुर्सानी दल्ने, काट्ने, चुस्ने, कुखुराको सुली दल्ने जस्ता कार्य कहिल्यै गर्न नहुने यसरी सर्पको विष झार्न नसकिने उहाँको भनाई छ । सर्पको टोकाइबाट तराईमा बढीले ज्यान गुमाउने गरेका छन् । गोमन सर्प राति आहारका लागि मानिसका घरभित्र छिर्छ। तराईतिर गर्मीले गर्दा मानिसहरु भुइँमा सुत्छन् । कतिपयको खाट हुँदैन । गर्मीमा भुइँमा सुते शितल हुन्छ भन्दै भुइँमा सुत्ने चलन छ । सर्प राति मुसा, छुचुन्द्रा खोज्दै हिँड्छ । कहिलेकाहीँ घरभित्रै आउँछ । निदाएका बेला हात खुट्टा चलाउँदा सर्पलाई चोट लाग्यो भने उसले टोक्ने हो । सर्पले आफै कहिल्यै पनि टोक्दैन । उसलाई आक्रमण भएको उसले ठान्यो भने मात्रै टोक्ने डाक्टर शर्मा बताउनुहुन्छ ।

























