फागुन ९, काठमाडौं : स्वास्थ्य मन्त्रालयले हरेक हप्ता नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने निर्णय गरेको छ। मन्त्रालयले फागुन ९ गतेदेखि प्रत्येक शुक्रबार दिउँसो १:३० बजे भिडियो ब्रिफिङमार्फत मन्त्रालयका नीतिगत निर्णय, स्वास्थ्य क्षेत्रका मुख्य गतिविधि तथा जानकारी सार्वजनिक गर्नेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयबाट भएका महत्वपूर्ण निर्णय, नीति परिवर्तन तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू नागरिकलाई सुलभ र पारदर्शी रूपमा उपलब्ध गराउन यो कदम चालिएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालयका गतिविधि तथा स्वास्थ्यसम्बन्धी जानकारी नागरिकले सहज रूपमा पाउनुपर्ने भन्दै भिडियो ब्रिफिङ प्रणाली सुरु गर्न निर्देशन दिएका थिए। यसअघि नागरिकका गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ हटलाइन सेवा (१११५) सञ्चालनमा ल्याइएको थियो, जसले सामाजिक सञ्जाल र इमेलमार्फत पनि गुनासो सुनेर समाधान गर्ने कार्य गरिरहेको छ।
“हप्ताभरका गतिविधि भिडियोमार्फत नागरिकमाझ ल्याउँदा प्रभावकारी हुने निष्कर्षपछि नियमित ब्रिफिङको तयारी गरेका हौं,” मन्त्री पौडेलले भने, “शुक्रबारदेखि औपचारिक रूपमा यसको सुरुवात हुनेछ।”
मन्त्रालयले प्रेस विज्ञप्ति र सञ्चारमाध्यममार्फत मात्र होइन, सामाजिक सञ्जालमा पनि नियमित रूपमा जानकारी प्रवाह गर्ने योजना बनाएको छ। कोभिड महामारीको समयमा यस्ता भिडियो ब्रिफिङ गरिए पनि पछि स्थगित भएको थियो। तर, अबदेखि नागरिकलाई नियमित स्वास्थ्यसम्बन्धी जानकारी दिन पुनः यो प्रणाली लागू गरिएको हो।
स्वास्थ्य क्षेत्रका महत्वपूर्ण गतिविधिहरू पारदर्शी बनाउन तथा नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिन मन्त्रालयले यो डिजिटल पहललाई प्राथमिकता दिएको जनाएको छ।


























