१ साउन, मेचीनगर : विभिन्न सेवा प्रदायक कम्पनीले विद्युतका पोलमा राखेका तारलाई उचित व्यवस्थापन नगर्दा यतिखेर जिल्लाका मुख्यः शहर बजार कुरुपमात्र बनेका छैनन् ,पोलले नै नथेग्ने गरी राखिएका यि तारहरुले दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।
विद्युत, केवल टिभि र इन्टरनेट सेवा प्रदायक कम्पनीका तार कति त कामै नलाग्ने छन् तर पनि सम्बन्धित कम्पनीले ती काम नलाग्ने तारको उचित व्यवस्थापन गर्न सकेका छैनन् । विद्युत प्राधिकरणले राखेका यि पोलहरुमा केबल टिभि र इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क तिरेर तार राख्ने गरेका छन् । कुन तार के को हो ? कसले यसरी जाथभावि रुपमा काटेर छोडेको छ ? कसैलाई थाहा छैन ।
जस्ले यतिखेर झापा जिल्लाको सुन्दरतालाई चुनौति दिइरहेका छन् । सम्बन्धित निकायले यस्ता तार व्यवस्थापनको वेवास्ताका कारण कति ठाउँमा त विद्युत सर्ट भई आग्लागीका घटना समेत भएका छन् । यी घटनासँगै अव्यवस्थित तारकै कारण नगर, गल्ली सबैतिर कहिले ठूलो दुर्घटना भइ पूरै टोल नै आगलागीबाट समाप्त हुने हो स्थानीय त्रासमा छन् । बिजुलीको तारसँगै विभिन्न नेटवर्कका तार अव्यवस्थित हुँदा बजारको सौन्दर्य बिग्रिनुका साथै दुर्घटना बढ्ने गरेको स्थानीयको भनाइ छ ।

यतिमात्र होइन विद्युत पोल प्रयोग गरेबापतको रकम केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाले नबुझाउदा प्राधिकरणको लाखौं रुपैयाँ राजस्व गुम्ने अवस्थामा रहेको प्राधिरणले जनाएको छ । अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, जिल्लाका सुन्दरनगरी शहरलाई कुरुप बनाइदिएको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख इञ्जिनियर सञ्जीवकुमार शाह बताउँछन् ।
प्राधिकरणले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गर्दा समेत सेवा प्रदायक संस्थाहरुले राजस्व बुझाउन आलटाल गरिरहेको झापाका प्राधिकरण वितरण केन्द्रहरुले जनाएका छन् । इञ्जिनियर शाहका अनुसार जुन जुन कम्पनिले विद्युतको पोल प्रयोग गरेका छन् अधिकाँशले लामो समयदेखि रकम बुझाएका छैनन् । ‘प्रधिकरणले पटक पटक रकम बुझाउन पत्रचार गरिरहेको छ, लाइन काट्ने समेत जानकारी गराईसकेको छ तर, पनि पोल प्रयोग गरे वापतको महशुल बुझाउन आएका छैनन्,’ इञ्जिनियर शाहले भने—‘लाइन काट्यो कि व्यवसायीहरुले मुद्धा हालिहाल्छन् अनि अदालतले लाइन नकाट्न आदेश दिन्छ, अदालतको आदेश त पालना गर्नुपर्छ ।’

उनका अनुसार केही समयअघिसम्म गाउँपालिकामा यस्ता पोल प्रयोग वापत प्रतिपोल एकसय र नगरपालिकामा प्रतिपोल तीनसय रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्दथ्यो । पछिबाट यसलाई संशोधन गरी प्रति किलो मिटरका दरले बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
कति पोलमा तीनै तारहरुको आडमा पक्षींहरुले गुड नै बनाएका छन् । माकुरोको जालो जस्तै रहेका तारहरुले ग्रामीणभेगमात्र होइन सिंगो शहरलाई नै कुरुप बनाइदिएको छ । मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोख्रेल उप्रेतीले सुन्दर नगरलाई कुरुप बनाउने काम विद्युतका तारहरुले गरेका कारण तारलाई व्यवस्थित बनाउँन सम्बन्धित पक्षलाई जानकारी गराई सकिएको बताइन् ।
‘यसरी अव्यवस्थित तारहरुले नगरको सुन्दरतामा नै प्रश्न उठ्छ भन्ने मात्र होईन, कुनै पनि बेला नसोचेको विपद् आइलाग्छ भन्नेमा हामी सचेत छौ’, कार्यवहाक नगर प्रमुख उप्रेतीले भनिन्— ‘त्यही भएर मेचीनगर नगरपालिकाले मेचीनगरक्षेत्रभित्र रहेका नेपाल दुर सञ्चार, केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रमुख प्रतिनिधिहरुसँग यसलाई व्यवस्थित गर्न हामीले पटक पटक छलफल गरेका छौ । विद्युतका पोलमा रहेका काम नलाग्ने र पुराना तारहरुको व्यवस्थापनमा उहाँहरुले पनि चासो देखाउनु भएको छ । चाडै त्यस्ता काम नलाग्ने तारहरुको सम्बन्धित पक्षले उचित व्यवस्थापन गर्नेमा स्थानीय सरकार ढुक्क छ । उहाँहरुले काम नलाग्ने तारहरु हटाउनुपर्छ ।’
स्थानीयवासी जीउज्यानसँंग प्रत्यक्ष सम्बन्ध राख्ने यस्तो संवदेनशील विषयमा ध्यान नदिने हो भने यसले ठूलो विपद् निम्तिने बताउछन् । यी तारका कारण शहर बजार जति कुरुप हुँदैछ त्यति नै आगलागी वा कुनै दुर्घटनाको जोखिम बढेर गएको स्थानीयबासी बताउँछन् । विजुलीका पोलहरुमा विभिन्न केवल लाइनका तार, टेलिकम, नेटहरुका तारहरु जताततै अस्तव्यस्त तरीकाले राख्ने गरिएकोले नगर क्षेत्र कुरुप बन्दै गएको झापा मेचीनगरका घनश्याम गौतमकोे भनाई छ
। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका एकजना केन्द्र प्रमुखले सबैतिर तार अस्तव्यस्त भएको स्वीकार गदैं अव्यवस्थित तारका कारण सडकमा हिँड्ने सवारी साधनले तार छुँदा करेन्ट लागि दुर्घटना हुने गरेको बताए । विद्युत पोलमा जथाभावी रुपमा तार राख्न अनुमती दिँइदा अहिले यो समस्या जटिल बनेको छ । भुईभरी लत्रिएका तारहरुले सडक पेटीमा मानिसलाई आवातजावत गर्न समस्या भएको छ ।
विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार नै तारहरू जडान गरिएको सेवा प्रदायक कम्पनिहरुको भनाई छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कोशी प्रदेशका प्रदेश प्रमुख इञ्जिनियर राजीव सिहंले यो समस्या प्रदेशभरिनै रहेको बताए । उनका अनुसार वल्डलिंकले केही समयअघि ७७ लाख रुपैयाँ बुझाउको बाकी कसैले पनि रकम नबुझाएको जानकारी दिए ।

























