काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘जेन-जी’ आन्दोलनले ल्याएको ‘ऐतिहासिक क्रान्ति’ को संरक्षणका लागि तत्काल अन्तरिम सरकार गठन र संसद् विघटनको माग गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले अन्तरिम सरकारको नेतृत्व गर्न सुशिला कार्कीलाई अघि सारिएकोमा समर्थन जनाएका हुन्।
‘जेन-जी’ हरूको भर्चुअल बैठकले अन्तरिम सरकारको प्रमुखमा कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो। उक्त बैठकमा सरकार प्रमुखका लागि मेयर बालेनको नाम पनि छलफलमा आएको थियो। तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउनुपर्ने भन्दै अन्तरिम सरकारको नेतृत्वका लागि कार्कीलाई अघि सार्नुपर्नेमा जेन-जीहरू सहमत भएका थिए।
मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, “जेन-जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोला।” यसबाट बालेनले आन्दोलनकारी युवाहरूको मागमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्।
नेपालमा हालै भएको हिंसात्मक प्रदर्शनपछि राजनीतिक अस्थिरता बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् भने देशभर निषेधाज्ञा र कर्फ्यू जारी छ। यस्तो संवेदनशील अवस्थामा मेयर बालेनको यो मागले राजनीतिक वृत्तमा थप हलचल ल्याएको छ।

















