यस्ता छन् प्रबलीकृत प्रधानमन्त्री कार्यालयका विशेषता [तस्बिरहरू]

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक सुविधायुक्त बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने उक्त भवन उच्च प्रविधियुक्त एवं भूकम्प प्रतिरोधी छ ।


भवनका चारमध्ये पश्चिमबाहेक सबै मोहडाको निर्माण सकिएको छ । भवनको तेस्रो तलामा प्रधानमन्त्रीको निजी सचिवालय, मन्त्रिपरिषद् बैठक हल र मुख्यसचिव कक्ष सुरक्षा रणनीतिका सबै उपाय अपनाएर निर्माण गरिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम) को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत सुरु गरिएको थियो ।

उक्त भवनमा वास्तुविज्ञको समेत सुझावका आधारमा चारैतिर काठैकाठले ढाकेर बनाइएका कोठा छन् । पुराना कलात्मक शैलीलाई सकभर दुरुस्त राख्न खोजिएको छ । प्राविधिकका अनुसार कोठाहरूमा ‘रबरउड’ प्रयोग गरिएको छ । भुइँ, सिलिङ र भित्ता काठले ढाकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपनिर्देशक झप्पर विश्वकर्माका अनुसार भवनमा फायर फाइटिङ एवं सूचना प्रविधिको जडान गरिएको छ ।

भनवमा साना–ठूला तीन वटा बैठक कोठा छन् । प्रधानमन्त्रीलाई जुन कोठामा बस्न मन लाग्छ, त्यहीँ बस्न सक्ने गरी संरचना तयार गरिएको छ । भवनमा मन्त्रिपरिषद् बैठकका लागि २७ वटा कुर्सी राखिएको छ । २५ मन्त्री, एक मुख्यसचिव र कम्तीमा एक जना अन्य व्यक्ति बस्न मिल्ने गरी मन्त्रिपरिषद् बैठक हल तयार गरेर कार्पेटसमेत राखिएको छ । विदेशी र स्वदेशी पाहुना भेट्ने विशेष कोठा बनाइएको छ । प्रदेश समन्वय परिषद् कार्यालय, ग्यालरी हल, इन्टिलिजेन्ट कार्यालय, मिडिया सेन्टर, राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजना अनुगमन सेन्टर, स्वास्थ्य इकाईलगायत सबै खालका सुविधासहितको संरचना निर्माण गरिएको छ । पाँचवटा महाशाखा रहने प्रशासनिक भवनमा करिब तीन सय कर्मचारी अटाउने संरचना छ ।

प्रधानमन्त्रीको कोठामा जाने करिडोरमा रातो कार्पेट बिछ्याइएको छ । ६८ डिग्री सेल्सियस तापक्रममा पाइपबाट आफैं पानी निस्कने ‘स्प्रिङकल’ जडान गरिएको जसका कारण आगलागी भए मान्छेले पानी हाल्नु पर्दैन । भवनको दक्षिणी भागमा २ लाख ३० हजार लिटर पानी अट्ने ट्यांकी बनाइएको छ । आगलागी भए ट्यांकीको पानी स्वत: कोठामा जडित पाइपमा जाने व्यवस्था मिलाइएको छ । भित्र धूवाँ भए वा कसैले धूमपान गरे साइरन बज्नेछ । बोरिङ गरेर निकालिएको पानीलाई थप ‘ट्रिटमेन्ट’ गरेर भवनमा पठाइनेछ ।

भवनको बाहिरी भागमा बगैंचा तयार पारिएको छ । २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि पूर्वीलगायतको मोहडामा सिमेन्ट प्रयोग गरेर मर्मत गरिएको देखिएको छ । अहिले पनि उक्त मोहडामा सिमेन्ट प्रयोग गरिएको छ । अगाडिको अर्थात् पश्चिम मोहडामा भने इँटाको धूलो, चुना र बालुवा प्रयोग गरेर निर्माण गरिएको छ । आयोजनाले भवनको भित्री भाग तयार गर्न मात्र ५५ करोडको ठेक्का स्वीकृत गरेको थियो । सबै संरचनाको प्रबलीकरणका लागि करिब डेढ अर्बको लागत अनुमान आयोजनाले गरेको थियो । उपनिर्देशक विश्वकर्माका अनुसार भूकम्पबाट क्षतिग्रस्त संरचनालाई फलाम र रड घुसारेर पिलरको जगैदेखि बलियो बनाइएको छ ।

सबै कुर्सी उत्तरतर्फ

वास्तुविज्ञहरूको सल्लाहअनुसार प्रधानमन्त्री, मुख्यसचिव र सचिवहरू बस्ने कुर्सी उत्तर फर्काएर राखिएका छन् । ‘मिलेसम्म सबै कुर्सीलाई दक्षिण राखेर र बस्ने व्यक्ति उत्तर फर्कने व्यवस्था मिलाएका छौं,’ एक कर्मचारीले भने, ‘वास्तुविज्ञले यसो गरे मात्र शुभसाइत हुन्छ भनेका छन् । उत्तर फर्केर बस्दा नेतृत्व राम्रो हुने विश्वास छ ।’ प्रधानमन्त्री कार्यालयमा पाँच सचिव र ११ सहसचिव रहनेछन् । प्रधानमन्त्रीको कोठाको भित्री भागमा विशेष आराम कक्ष बनाइएको छ । जहाँ ओछ्यानको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.