निर्वाचनको चहलपहल शुरु : झापाका सवै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

२ माघ मेचीनगर :  आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन —२०८२ का लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबारबाट निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । कार्यालय सञ्चालनमा आए लगत्तै निर्वाचन कार्यालयका अधिकारीहरुले विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुसँग विविध विषयमा छलफल समेत गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर—३ जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा मुख्यः निर्वाचन अधिकृत झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईँटेलको कार्यालय रहने छ ,भने सोहि स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —३ को कार्यालय समेत रहने छ । क्षेत्रका निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतले मुख्यः निर्वाचन अधिकृत लुईँटेलसँग समन्वय गर्ने छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर —३ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको क्षेत्र हो । यसअघिका निर्वाचनमा एमालेको सहयोगमा उनले चुनाव जित्दैं आएका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर— १ मा कार्यालय सञ्चालनमा आएपछि विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु र निर्वाचन अधिकृत सहायक निर्वाचन अधिकृतसँग सामूहिक तस्वीर

झापाको निर्वाचन क्षेत्र नम्बर —३ मा ७१ हजार एकसय ७४ पुरुष र ६९ हजार छ सय ८३ महिलागरी कुल मतदाता एकलाख ४० हजार आठसय ५७ जना रहेका छन् । यसक्षेत्रको सहायक निर्वाचन अधिकृतको जिम्मेवारी डिल्लीराम प्रसाईलाई तोकिएको छ । यसक्षेत्रमा कुल ६७ वटा मतदान स्थल र एकसय ६४ वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि गोपी विश्वकर्मालाई निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालका अनुसार झापाको निर्वाचन क्षेत्र नम्बर —१ मा ६५ हजार आठसय ५८ पुरुष र ६५ हजार दुईसय नौ महिला गरी कुल एकलाख ३१ हजार ६७ जना मतदाता रहेका छन् । यी मतदाताहरुले ४५ मतदान स्थलका एकसय ४५ वटा मतदान केन्द्रबाट मत खसाल्ने छन् ।

क्षेत्र नम्बर —२ मा निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको प्रशासनिक भवनमा राखिएको छ । क्षेत्र नम्बर —२ मा महेश खत्री र शुक्रराज वान्तवालाई क्रमस निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरीएको छ । यस क्षेत्रमा कुल मतदाता संख्या एकलाख ४७ हजार पाँचसय २२ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार ७३ हजार नौसय ५० पुरुष, ७३ हजार पाँचसय ६७ महिला र पाँचजना अन्य मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर —२ मा ४९ वटा मतदान स्थल र एकसय ६५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

मतदाता परिचय पत्रका लागि फोटो खिचाउँदैं

तुर्सा हेमरम प्रतिष्ठान कन्काई नगरपालिका —१ मा झापा निर्वाचन क्षेत्र नम्बर —४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा तोकिएका छन् । त्यसक्षेत्रमा ६६ हजार दुई सय ८३ पुरुष, ६४ हजार चारसय २८ महिला र एक अन्यगरी कुल मतदाता संख्या एकलाख ३० हजार सातसय १२ जना रहेका छन् । निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा यसक्षेत्रमा कुल एकलाख २३ हजार एकसय २४ जना मतदाता थिए । ६३ वटा मतदान स्थल रहेको क्षेत्र नम्बर ४ मा एकसय ५६ वटा मतदान केन्द्र रहेका छन् ।

दमक —८ मा रहेको अग्र्यानिक कृषि केन्द्रलाई झापा निर्वाचन क्षेत्र नम्बर —३ को निर्वाचन अधिकृतको कार्यालय बनाईएको छ । त्यसक्षेत्रको निर्वाचन अधिकृत बिदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर —५ पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र पनि हो । क्षेत्र नम्बर —५ मा कुल मतदाता संख्या एकलाख ६३ हजार तीनसय ७९ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार ८१ हजार ८१ पुरुष, ८२ हजार दुईसय ९६ महिला र अन्य दुई जना मतदाता छन् । यसक्षेत्रमा ६१ वटा मतदान स्थल र एकसय ८५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा तीन लाख ५८ हजार तीन सय ४६ पुरुष, तीन लाख ५५ हजार एकसय ८३ महिला र आठ अन्य गरी कुल सातलाख १३ हजार पाँचसय ३७ जना मतदाता रहेका छन् । झापाका यी मतदाताहरुले पाँचवटा निर्वाचन क्षेत्रका दुईसय ८५ मतदान स्थलका आठसय १५ वटा मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्य चुन्ने छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन —२०७९ को तुलनामा फागुन २१ मा हुने निर्वाचनमा झापामा मतदाताको संख्या निक्कै बृद्धि भएको छ । निर्वाचन कार्यालय झापाको अभिलेख अनुसार २०७९ मा जिल्लामा तीन लाख ३१ हजार ४४ पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र आठ अन्यगरी कुल मतदाताको संख्या छ लाख ६३ हजार तीन सय ११ जना रहेको थियो । २७ हजार तीन सय दुई पुरुष २२ हजार नौ सय २४ महिला गरी यसपटक ५० हजार दुई सय २६ जना मतदाता थपिएका छन् । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन —२०७९ मा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा दुई सय ८५ मतदान स्थल र सात सय ६६ मतदान केन्द्र थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन —८२ मा ४९ वटा मतदान केन्द्र थप गरीएको छ ।

प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ । तालिका अनुसार माघ ६ गते विहान १० देखि ५ वजेसम्म उम्मेद्वारको मनोनयन दर्ता गर्ने, सोहि दिन साँझ ५ देखि ७ वजेसम्म मनोनयन दर्ता भएको उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने, माघ ७ गते विहान १० देखि दिउँसो ३ वजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, माघ ७ र ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, माघ ८ गते साँझ ५ देखि ७ वजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, माघ ९ गते विहान १० देखि दिउँसो १ वजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने, माघ ९ गते दिउँसो १ वजेदेखि ३ वजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, माघ ९ गते दिउँसो ४ देखि ७ वजेसम्म उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.