विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश निकै अप्ठेरो परिस्थितिमा रहेको बताएका छन्। देशलाई संकटबाट जोगाउन सबै राजनीतिक शक्ति मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का उम्मेदवारसमेत रहेका कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा बिहान करिब ८ः३० बजे मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले देश अहिले राजनीतिक, सामाजिक तथा आर्थिक रूपमा अस्थिर अवस्थामा रहेको बताए। यस्तो परिस्थितिबाट देशलाई निकास दिन राजनीतिक दल र संसदमा जाने सबै प्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने उनले बताए।
उनले भने, “देश अहिले अप्ठेरो अवस्थामा छ। राजनीतिक, सामाजिक र आर्थिक स्थिरता देखिएको छैन। त्यसैले सबै मिलेर देशलाई जोगाउन आवश्यक छ।”
उनका अनुसार सबै दलको सहमतिमा संविधानमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ। नेपाली कांग्रेस मध्यमार्गी विचार बोकेको दल भएकाले कांग्रेसकै नेतृत्वमा संविधान सुधार गर्ने पहल हुनुपर्ने उनले बताए।
कोइरालाले देशलाई निकास दिने पहलको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने दाबी गर्दै निर्वाचनको परिणामबाट कांग्रेस नै सबैभन्दा ठूलो दल बन्ने विश्वास पनि व्यक्त गरे।

























