काँकरभिट्टा, १४ बैशाख | भारतका विभिन्न शहरमा दोस्रो लहरको कोभिड १९ संक्रमण बढ्दै गएपछि नेपाल भारतको पुर्वी सीमानाका काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयहरुलाई मंगलबारबाट रोक लगाईएको छ । नेपालमा समेत कोभिड १९ दोस्रो लहर बढेको भन्दैं भारतीयहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ । काँकरभिट्टा नाका भएर भारतबाट आउने नेपालीहरुलाई पीसीआर टेष्टको रिपोर्ट हेरेर तथा नेपालबाट भारत जानेहरुलाई परिचय पत्रका आधारमा आवतजावत गर्न दिईएको प्रहरीको भनाई छ ।
भारतीय नागरिकलाई काँकरभिट्टा नाका भएर नेपाल प्रवेशमा रोक लगाएसँगै मंगलबार मेचीपुल सुनसान झै बनेको छ । नोवल कोरना भाइरसको संक्रमण रोक्न र फैलिन नदिन नगरका विभिन्न व्यवसायीहरुलाई समेत यसको रोकथाममा लाग्न मेचीनगर नगरपालिकाले सवैमा आग्रह गरेको छ । मंगलबार नगरपालिकाकातर्फबाट नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका यातायात व्यवसायी, तथा त्यसँग सम्बद्घ संघ संगठन, उद्योगी व्यवसायी, वित्तिय संस्थालगायतका प्रमुख प्रतिनिधिहरुसँग अलग अलग छलफल गरेर यसको रोकथाममा लाग्न आग्रह गर्नुभएको हो ।
नगरप्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा हरेकले नगरक्षेत्रमा सचेतनामुलक कार्य सञ्चालन गर्ने तथा नगरवासीलाई अनावश्यकरुपमा हुने भीडभाडमा नजान आग्रह गर्नुपर्नेमा जोड दिईएको थियो । मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्न नगरप्रमुख आचार्यले छलफलमा बताउनुभयो । सामाजिक दुरी कायम गर्न भन्दैं नगरप्रमुख आचार्यले मास्क, सेनिटाइजर र ग्लोब्स प्रयोग नगर्नेलाई सार्वजनिक सवारी साधनमा सेवा नदिन यातायात व्यवसायी लाग्नुपर्ने बताईएको थियो । हरेक सवारी साधनमा यस्ता सुरक्षाका सामाग्री अनिवार्य राख्नुपर्ने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।
उपप्रमुख उप्रेतीले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति नेपालमा देखिनु धेरै संवेदनशील भएकाले पुर्वीनाकाबाट रोग भित्रिन नदिन हेल्थ डेक्समार्फत विशेष सजगता अपनाएको बताउनुभयो । उहाँले नगरका विभिन्न ठाउँमा चेतनामुलक नारा वा कोरोनाका लक्षण यसबाट बच्ने उपायका बारेमा लेखिएका वोर्डहरु राखेको बताउनुभयो । छलफलमा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्था, बैंकलगायतका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उनीहरुले कोभिड १९ नियन्त्रणमा आ आफ्नोक्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए ।

























