१९ वैशाख, काठमाडौं । पोखरा थन्डर्स् एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पोखरा र ललितपुरले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको निर्धारित समयमा दुवै टिमबाट गोल गर्ने राम्रा अवसरहरु प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन।
खेलमा उत्कृष्ट प्रदर्शन गरे बापत पोखराका आयुश घलान ” इमर्जिङ प्लेयर अफ दि म्याच ” बन्दै नगद रु दस हजार प्राप्त गरे । त्यसैगरी ललितपुरका प्रवेश कुँवर “सुपर प्ले अफ दि म्याच “बन्दै नगद रु २५ हजार प्राप्त गरे ।
जारी लिगमा ४ खेलबाट पोखराले ५ अंक जोड्दै शीर्ष तेस्रो स्थानमा छ भने ललितपुर एफसी ४ खेलबाट ३ अंकसहित छैठौं स्थानमा रहेको छ । भोलिको खेल चितवन एफसी र विराटनगर सिटी एफसी बीच अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

























