आज दशैंको महाअस्टमी, महागौरीको पूजा आराधना गरिँदै

A notice in Nepali from Mechinagar Ward No. 10

आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

बडादसैँको आठौँ दिन आज दुर्गाभवानीकोआठौं स्वरुप महागौरीको  पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ ।

यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । बिहान सबेरैदेखि विभिन्न शक्तिपीठहरूमा बलि चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लागेको छ ।

महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिराँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्।

गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दसैँघर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुआतमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतीको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् ।

शक्तिकी महास्वरुप महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दसैँ–घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आरधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरूमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

बलि दिने विषयमा आजभोलि चौतर्फी रुपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित संघ–सस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै मासु खान जनावरहरूलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् ।

चाहे हिन्दूहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।

पछिल्लो समयमा बलि दिने विषयमा धेरै कमी आएको पाइएको छ । विशेषतः दसैँमा खसी काट्नैपर्ने, ज्वाइ–पाहुनालाई मासु खुवाउनैपर्ने चलन सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । बिहानैबाट खसी काट्ने घरमा विशेष चहलपहल रहन्छ । पानी तताउने अनि काट्ने मान्छे बोलाउने लगायत कसको घरको खसी कति किलोको भयो ? कसको घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुकता विशेषगरी केटाकेटीहरूमा रहने गर्छ ।

पहिले–पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषि प्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरूको सहज उपलब्धता भएकाले पनि बलि दिने चलन धेरै थियो । तर आजभोलि बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुन सक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।

अर्कोतर्फ मासुहरू राख्न चाहिने चिस्यानयन्त्र अर्थात् फ्रिजहरूको उपलब्धता धेरै नेपाली घरहरूमा नभएको कारणले पनि मासुहरू स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन् । अनि धेरै चिल्लो गरेर पक्कु मासुहरू धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । यस विषयमा मासु सेवन गर्दा सचेत रहन जरुरी छ ।

संस्कृतमा बलिको अर्थ कुनै पनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ । आजको दिन हामी पनि आफ्नो रीस–राग, मोह, इष्र्या अनि घमन्डको बलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ । सबैलाई महाअष्टमीको शुभकामना ।

सन्दर्भ सामाग्री : हाम्रो पत्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.