मेचीनगरमा डेंगु नियन्त्रण गर्न र संक्रमण बढ्न चेतनामुलक कार्यक्रम शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१७ मेचीनगर, कात्तिक : झापाको मेचीनगरमा डेंगु ज्वरोका रोगी फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले त्यसको नियन्त्रण गर्न र संक्रमण बढ्न नदिन नगरका विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रमसहित विविध कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार अहिले नगरको वडानम्बर ६ र वडानम्बर ८ मा डेंगु ज्वरोका रोगी फेला परेका छन् । डेंगु ज्वरोका रोगी मेचीनगर—८ की एक महिलाको अहिले विर्तामोडको एउटा निजी अस्पतालमा उपचार भइरहेको छ । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो ।

नगरमा डेंगु संक्रमण देखिए लगत्तै किटजन्य रोग ‐डेंगु) सम्बन्धि बहुनिकाय अन्तरक्रियादेखि यसको रोकथामका लागि चेतनामुलक कार्यक्रम, माईकिङ्ग, पर्चा पम्प्लेट वितरणसहित स्वस्थ्यकर्मीसहितको घरदैलो अभियान शुरु गरेको छ । डेंगुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । डेंगु भाइरस संक्रमित एडिस एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्छ । लामखुट्टेले टोकेको पाँचदेखि सात दिनभित्र उच्च ज्वरो र अत्यधिक टाउको दुख्ने समस्या आउने जानकारहरु बताउँछन् ।
वर्षा सकिएपछि विभिन्न ठाउँमा पानी जमेको हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टेले फुल पार्ने गर्छ । त्यही लामखुट्टे (एडिस एजिप्टाई, पोथी)ले रोग सार्छ । असोज र कात्तिक महिनामा यस्तो संक्रमणको खतरा बढ्ने बताइएको । यद्यपि जोखिम मंसिर मध्यसम्म कायमै रहने स्वास्थ्यकर्मी बताउँछन् ।

डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे नगरपालिकाले सर्वसाधारणमा जानकारी गराउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम नगरपालिकाले शुरु गरेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो । उहाँले आवश्यक भए विषादी छिट्ने लगायतका काम समेत शुरु गर्ने जानकारी दिनुभयो । बुधबार विभिन्न संघ संस्थाको सहयोगमा नगरका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम गरिएको छ । नगरका स्थानीयबासीले प्रभावित क्षेत्रमा खटिएको टोलीलाई फोहोर क्षेत्र देखाउन, जथाभावी रुपमा फ्याँकिएका गाडीका टायरहरु हटाउन सघाउन थालेका छन् । डेंगु संक्रमणको भयावह अवस्था आउन नदिन हरेक नगरवासी सचेत हुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्नेमा नगर उपप्रमुख मनिा पोखरेल उप्रेतीको भनाई छ ।

विशेषज्ञहरुका अनुसार डेंगु रोगको उपचारमा भन्दा पनि जनचेतनामूलक अभियानबाटै यो रोग निर्मुल पार्नु बढी प्रभावकारी हुने बताउछन् । हरेक वर्ष झापामा वर्षा सकिने बित्तिकै डेंगुका रोगी बढ्ने गर्छन् । जानकारहरु सर्वसाधारणले थोरै मात्रै सतर्कता देखाउँदा मात्रै पनि डेंगु संक्रमणबाट बँच्न सकिन्छ ।

मेचीनगरमा डेंगु फैलिएपछि नगरभरीका सहरी क्षेत्रमा नगरपालिकाले चेतना अभियान शुरु गरेको हो । सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाईमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हुन्छ । एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ ।

लामो समयदेखि जमेको पानीमा,पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । उक्त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । याम परिवर्तनसँगै लामखुट्टेको टोकाई बढ्ने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको जानकारहरुको भनाई छ । डेगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाको भनाई छ ।

जथाभावी फोहर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्रहरु बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगु छिटो र बर्सेनि फैलिने गरेको हो । ‘कोठाको सजावटका लागि राखिने फूलदानीको पानी पनि फेरिरहने नगर्दा रोग सार्ने लामखुट्टे कोठामै पैदा हुन्छ’, सापकोटाले भन्नुभयो —‘त्यसैले लामो समय पानी जम्ने अवस्था आउन दिनु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.