तीन खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात

A notice in Nepali from Mechinagar Ward No. 10

४ साउन, काठमाडौँ : एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा  तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास) आयात भएको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको हो ।

आव २०७७/७८ मा एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेका कारण इन्धनको परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले दोब्बर परिणामको इन्धन आयात भएको बताउनुभयो । यो अहिलेसम्मकै धेरै रकमको हो, एक वर्षमा तीन खर्बको १० अर्बको आयात हुँदा सरकारलाई राजस्वबापत एक खर्ब २० अर्ब रुपियाँ बुझाएका छौँ, उहाँले भन्नुभयो ।

गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेको थियो । मूल्य बढेका कारणले गर्दा दोब्बर परिणामको इन्धन आयात भएको निगमको भनाइ छ । मूल्य वृद्धिसँगै स्थानीय बजारमा माग बढ्ेकाले आयातमा समेत सामान्य वृद्धि भएको छ ।

निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात भएको छ । मट्टितेल १७ हजार २८० र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको निगमको तथ्याङ्क छ । निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा इन्धनको खपत बर्सेनि बढ्ने गर्छ ।

६१ अर्बको ग्यास मात्र

एक वर्षमा ६१ अर्ब ५९ करोड ५८ लाख ९३ हजार रुपियाँ बराबरको पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन ग्यास आयात भएको छ । मूल्य बढेको र खपतमा समेत १३ प्रतिशतले बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रकम बढीको ग्यास आयात भएको निगमको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन आयात भएको थियो । २०७६/७७ मा २८ अर्ब ६२ करोड ७६ लाख ५१ हजार रुपियाँको चार लाख ४८ हजार ५४९ मेट्रिक टन ग्यास आयात भएको थियो ।

एक खर्ब २० अर्ब राजस्व सङ्कलन

एक वर्षको अवधिमा निगमले पेट्रोलियम पदार्थ आयात गरेर एक खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ९७ अर्ब २० करोड ४१ लाख २१ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । इन्धनमा विभिन्न शीर्षकमा कर सङ्कलन हुने गर्छ । निगमका अनुसार पेट्रोलमा ६३ रुपियाँ २३ पैसा, डिजलमा प्रतिलिटर ४५ रुपियाँ ९१ पैसा र मट्टितेलमा १३ रुपियाँ ६६ पैसा कर रहेको छ । एक सिलिन्डर ग्यासमा ३२७ रुपियाँ ३७ पैसा कर रहेको छ ।

पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपियाँ २३ पैसा सङ्कलन गरेकोे छ । त्यस्तै सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपियाँ, प्रदूषण शुल्क एक रुपियाँ २५ पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर २० रुपियाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपियाँ ८० पैसा उठाउने गरेको छ ।

यस्तै डिजलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपियाँ सडक मर्मतसम्भार दुई रुपियाँ, प्रदूषण कर एक रुपियाँ ५० पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर १८ रुपियाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६३ पैसा उठाउने गर्छ ।(गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.