स्वर्गको टुक्रा छाडेर आएँ यो मरुभूमिमा
भेटिन्छ काम, कमाइन्छ दाम यही आयो मनमा
नजानी सीप, बलकै भरमा के बन्थ्यो दरबार
बाध्यता परि नबुझी आएँ,धिक्कार्छु बारम्बार
सुटुक्क उसले उडाँउछु भन्दा फुलेथ्यो यो छाति
न दियो बास न पाएँ काम, के पर्यो म माथि
हुँदैन नोट खजुरको बोटमा उफ्रेर झार्नलाई
पसिना बग्छ खोलाझैँ यहाँ सिक्का मात्र पाउनलाई
घरकी जाहान,काखकी छोरी दिन गन्दै बस्दाहुन्
बाआमा मेरा बुडेसकालको लाठी खैकहाँ खोज्दाहुन्
देख्दोहो छोरो अरुका बाउ कुदेको गाडीमा
सोच्दोहो मेरो आएसी बाउ हिड्छु म गाडीमा
दाजुलाई दुख भाइलाई कष्ट झन् पिर चेलीलाई
सुन्दर सपना देखाई ल्यायो सराप्छु झेलिलाई
परदेशी जीवन फोटोमा जस्तै रंगीन कहाँ हुन्छ
फोटोमा दुख,काम र पिडा देखाउने को हुन्छ
सोचेको थिएँ धनभरि लान्छु कमाएर बाकसमा
भरोसा छैन जीवनको यहाँ फर्किन्छुकी बाकसमा


























