मेचीनगर, ३ चैत | प्रदेश नम्बर १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले हरेक सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न सुझाँव दिनुभएको छ ।
शुक्रबार नेपाल बहुउद्घेश्यीय सहकारी संस्था लि झापाको प्रधान कार्यालय मेचीनगर—६ काँकरभिट्टामा संस्थाको स्थलगत अवलोकन पश्चात आयोजित एक संक्षिप्त कार्यक्रममा बोल्दैं मन्त्री मगरले बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नाक्षेत्रमा उत्पादन भएका वस्तुलाई कसरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ त्यसतर्फ सहकारीकर्मी र संस्थाको ध्यान पुग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कुन कुन कुराबाट देश आत्मनिर्भर बनेको छ त्यसको पहिचान गरी त्यस्ता बस्तु कसरी अधिक से अधिक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ त्यसतर्फ प्रदेश सरकार समेत लागेको मन्त्री मगरले स्पष्ट पार्नुभयो । अब आयात गर्नुपर्ने वस्तुमा भन्दा निर्यातमा बढी जोड दिदैं मन्त्री मगरले बजारको स्तरतर्फ ध्यान दिदैं बाहिरी बजारको पहुँच कसरी बनाउन सकिन्छ सरकार सहकारीकर्मी,उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाले एउटा ‘पर्फेक्ट’ सहकारीकारुपमा स्वदेश एवम् विदेशमा समेत पहिचान बनाइसकेकोले पनि प्रदेश नम्बर १ सरकारले पनि यो संस्थालाई ‘पर्फेक्ट’ सहकारीकारुपमा लिइएको स्पष्ट पार्नुभयो ।
नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाले नाम अनुसारको काम गरेको भन्दैं बचत तथा ऋण, डेरी उद्योग, एनएमसी पसल चिया प्रशोधनलगायतका धेरै क्षेत्रमा संस्थाले प्रगति गरेका कारण यस संस्थाका राम्रा र सफल पक्ष अन्य सहकारीले पनि ग्रहण गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री मगरले अब हरेक सहकारीहरु मुलुकलाई समृद्घ बनाउनेतर्फ लाग्नुपर्ने समेत बताउनुभयो । सहकारीकै कारण विश्वका धेरै देशहरु समृद्घ बनेको उदारहणहरु प्रस्तुत गदैं मन्त्री मगरले नेपालका हरेक सहकारीहरुले पनि संघीय सरकारले अघि सारेको ‘समृद्घ नेपाल सुखी नेपाली’भन्ने मुल मन्त्रलाई सार्थक बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदान सरकारले कहिल्यै नविर्सने उहाँको भनाई थियो ।

उहाँले सरकारी, नीजि र सहकारी देशको अर्थतन्त्रमा टेवा पुर्याउने मुख्य खम्बा रहेको धारणा समेत राख्नुभयो । पछिल्लो समय सहकारीप्रति बचत गर्न र कर्जा लिनमात्र होइन जात, वर्ग, धर्म, लिंग संस्कृतिलगायतका कुनै पनि आधारमा सहकारीमा विभेद नहुने भएकाले सहकारीप्रति सर्वसाधारणको आर्कषण बढ्न थालेको उहाँको भनाई थियो । सहकारीले सदस्यको वित्तीय आवश्यकता मात्र पूरा गर्ने नभई सामाजिक, सांस्कृतिक, वातावरणीय क्षेत्रमा पनि यथेष्ट योगदान गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री मगरसहितको टोलीमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्यहरु झापाका गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली धनकुटाका काजीमान कागतेलगायतको सहभागिता रहेको थियो ।


























