६ मंसिर, बर्दिबास : नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा कार्यविधिविरुद्ध यहाँका व्यवसायी आन्दोलित भएका छन् । बर्दिबास उधोग बाणिज्य संघको अगुवाईमा मंलवार यहाँका ब्यवासायीले सडक प्रदर्शन गरेका छन् ।
‘चर्को ब्याजदर कम गर बैंक आतंक बन्द गर, ब्याजदर चर्को भो गरिखान गाह्रो भो, उद्योग व्यवसाय घाटामा बैंक जति नाफामा’ जस्ता नारा लेखिएका प्लेकार्डसहित बर्दिबास चोकबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो ।
प्रदर्शनकै क्रममा उधोगी व्यवसायीले प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा बैंकर्स एसोसियसन संघको कार्यालयमा पुगेर विज्ञप्ति पनि बुझाएका थिए । सात बुँदे विज्ञप्तिमा बैंकहरुले सम्झौताविपरित असुलेका सेवा शुल्क फिर्ता गर्नु पर्ने, कर्जामा एक अंकको ब्याजदर कायम गर्नु पर्ने, बैंकहरुले ब्याजबाहेक कुनै शुल्क लिन नपाउने माग समेटिएको छ ।
विज्ञप्तिमार्फत राखिएका अन्य मागमा बैंकहरुले अगाडी बढाएका लिलामी प्रक्रिया तत्काल स्थगन गर्नु पर्ने, चालु पुँजी कर्जा कार्याविधि ०७९ खारेज गर्नु पर्ने, कर्जाको नवीकरण म्याद ३ वर्ष गर्नु पर्ने लगाएत छन् ।
स्थानीय ब्यापारीका संगठीत जुलुुुुुस प्रदर्शनपछि पुन बर्दिबास चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै बर्दिबास उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतमले माग सम्वोधन न भए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिनु भयो ।
त्यस्तै संघका पूर्व अध्यक्ष सुरेश राउत तथा स्थानीय व्यवसायी विष्णु खड्काले कात्तिक १ गतेदेखि राष्ट्र बैंकले लागु गरेको कार्यविधिका कारण नीजि क्षेत्रका उधोगधन्दा, व्यापार व्यवसायलाई धाराशायी हुने अवस्थामा पुगेकोले उधोग व्यवसायी मैत्री नीति अवलम्वन गर्न राष्ट्र बैंकसँग माग गर्नु भयो ।
‘‘एकातिर बैंकहरुले मनोगतढंगमा ब्याज बढाउने र अर्कोतिर शुल्कमाथि शुल्क थपेर उद्योगी व्यवसायीलाई तनावमाथि तनाव थपेकाले समग्र नीजि क्षेत्र एकजुट भएर अगि बढ्नुको विकल्प नभएकोले आन्दोलनमा उत्रन बाध्य हुनु परेको हो’’ उहाँले भन्नुभयो । नीजि क्षेत्रको आन्दोलनप्रति बर्दिबासस्थित नेपाल सुन चाँदी ब्यवसायी संघलेसमेत ऐक्यवद्धता जनाएको छ ।


























