१२ पुस, विराटनगर : नेपाल स्काउट, प्रदेश युवा परिषद्को आयोजनामा तथा कोशी प्रदेश स्काउट कार्यालयको संयोजनमा सञ्चालन गरिएको प्रादेशिक युवा नेतृत्व तालिम कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। तालिम २०८२ साल पुस १० गतेदेखि १२ गतेसम्म झापाको शिवसताक्षी नगरपालिका स्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा आयोजना गरिएको थियो।
तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका ४२ जना युवा रोभर, रेञ्जर तथा स्काउटरहरूको सहभागिता रहेको थियो। तीन दिने तालिममार्फत युवाहरूमा नेतृत्व क्षमता, निर्णय क्षमता, सहकार्य, सामाजिक उत्तरदायित्व र आत्मविश्वास विकास गर्ने उद्देश्यले विभिन्न विषयमा व्यावहारिक तथा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिमका क्रममा नेपाल स्काउटका अनुभवी युवा प्रशिक्षकहरूका साथै अतिथि प्रशिक्षकका रूपमा राष्ट्रिय परिषद् सदस्य रवि खनाल, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे , युवा व्यवसायी सञ्जयजङ्ग थापा, कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी, रङ्गेली नगरपालिका स्थानीय प्रमुख आयुक्त मोतीराम ढुंगानाले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षकहरूले नेतृत्व, उद्यमशीलता, संगठन व्यवस्थापन, स्वयंसेवा र समाज रूपान्तरणमा युवाको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो।
तालिमको दोस्रो दिन सहभागीहरूले विभिन्न विधाका सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाएका थिए। तेस्रो दिन प्यानल डिस्कसन कार्यक्रम आयोजना गरिएको थियो, जसमा कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी तथा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीसँग युवाहरूले नेतृत्व, राजनीति, स्थानीय शासन र युवाको भूमिकाबारे प्रत्यक्ष संवाद तथा छलफल गरेका थिए।
तालिमको तेस्रो तथा अन्तिम दिन आयोजित समापन समारोह कोशी प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनालको प्रमुख आतिथ्यता तथा प्रदेश युवा परिषद् अध्यक्ष किरण बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा शिवसताक्षी नगर उपप्रमुख नरमाया कार्की, प्रदेश कार्य समिति पदाधिकारीहरू, स्थानीय स्काउट पदाधिकारी तथा स्काउट लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजक संस्थाले यस प्रकारका तालिमले युवाहरूलाई जिम्मेवार, सक्षम र परिवर्तनका संवाहकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


























