५ असार, विराटनगर: नेपाल स्काउटको ७४औं स्थापना दिवस कोशी प्रदेशमा आज भव्य समारोहका साथ मनाइएको छ। कोशी प्रदेश स्काउट कार्यालयले आयोजना गरेको यस विशेष कार्यक्रममा ज्याम्बोरेट स्मारिका विमोचन गरिनुका साथै स्काउट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको प्रमुख आतिथ्यता र प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षता रहेको थियो। स्काउटको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय स्काउट संरक्षकहरू, प्रमुख स्काउटहरू, कार्यालयहरू र दलहरूलाई विशेष रूपमा सम्मान गरियो।
सम्मानित व्यक्तित्वहरूमा बेलवारी नगरपालिकाका दिलप्रसाद राई, शिवसताक्षी नगरपालिकाका मेवाहाङ्ग थोप्रा (रोशन), र बराहक्षेत्र नगरपालिकाका रमेश कार्की स्थानीय स्काउट संरक्षकका रूपमा रहेका छन्। त्यस्तै, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने तिवारी, लेटाङ नगरपालिकाकी कृष्ण कुमारी पोख्रेल निरौला, र लिखु गाउँपालिकाकी अस्मिता थापा स्थानीय प्रमुख स्काउटका रूपमा सम्मानित हुनुभएको छ।
उत्कृष्ट स्थानीय स्काउट कार्यालयहरूका रूपमा धरान उपमहानगरपालिका, गौरादह नगरपालिका र फाकफोकथुम गाउँपालिकालाई सम्मान गरिएको थियो। दलहरूमा भने मोलुङ गाउँपालिका, ओखलढुंगाको बरुनेश्वर स्काउट दल, सिरिजङ्घा गाउँपालिका, ताप्लेजुङको सरस्वती स्काउट दल, खादवारी नगरपालिका, संखुवासभाको हिमालय स्काउट दल (आङ्ला), र हलेसी तुवाचुङ्ग नगरपालिका, खोटाङको सरस्वती स्काउट दल सम्मानित भएका छन्।
यसैगरी, नेपाल स्काउटले सञ्चालन गरेका विभिन्न परियोजनाका प्रशिक्षकहरूलाई पनि प्रशंसा पत्र प्रदान गरियो। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्यहरू रवि खनाल, नवल प्रसाद उपाध्याय, निर्मला अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाल, राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकहरू, स्काउट लिडरहरू, रोभर/रेन्जर र स्काउटहरू लगायतको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो भने प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।





























