झापा, भदौ २०: निजामती सेवा दिवस २०८२ को अवसर पारेर झापाको भद्रपुरस्थित मेची रंगशालामा जिल्ला प्रशासन कार्यालय आवद्ध टिम प्र.जि.अ. एघार र जिल्लास्थित ट्रेड युनियनहरू आवद्ध टिम ट्रेड युनियन एघार बीच एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न भएको खेलमा प्र.जि.अ. एघार ले ट्रेड युनियन एघार लाई ४-३ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको छ। प्र.जि.अ. एघारको टिममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहित जिल्ला प्रशासन कार्यालय र सो मातहतका कार्यालय प्रमुख र कर्मचारीहरू संलग्न थिए। यता, ट्रेड युनियन एघारको टिममा भने नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका अध्यक्ष रामचन्द्र बस्नेत सहित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र एकीकृत कर्मचारी संगठनका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।
नेपालमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ किनकि २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन लागू भएको थियो। सोही दिवसको अवसरमा यस वर्ष समेत खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको थियो। जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य यदुनन्दन दाहालले जानकारी दिनुभयो।
खेलकुद कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बु, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपरीक्षक उमेश पाण्डे, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीलगायत जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थिति थियो। यस्तै, ट्रेड युनियनका तर्फबाट पनि विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।






















