काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वि.सं. २०५८ सालमा भएको दरबार हत्याकाण्डको निष्पक्ष छानबिनका लागि तत्कालीन गृहमन्त्री एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने माग गर्नुभएको छ। जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जालमा स्टेटस लेख्दै शाहीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
पूर्वराजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता शाहीले देशको ऐतिहासिक र संवेदनशील घटनाको सत्यतथ्य अझै पनि नेपाली जनताको मनमा जीवितै रहेको उल्लेख गर्नुभएको छ। “हामी न्याय खोजिरहेका छौँ। राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र?” भन्दै उहाँले घटनाको स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ।
शाहीले नेपाल सरकारलाई अपिल गर्दै लेख्नुभएको छ, “दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ। त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस्।”
























