काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। उनी दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन्।
गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। नयाँ दिल्लीमा मंगलबार हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा उनले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पहिलोपटक हुँदैछ गृहमन्त्रीस्तरीय बैठक
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात सदस्य राष्ट्र छन्। संगठन स्थापना भएको करिब तीन दशकपछि पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो।
गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृह तथा आन्तरिक मामिला हेर्ने मन्त्रालयका वरिष्ठ अधिकारीहरूको बैठक हुनेछ। उक्त बैठकबाट आएका सुझाव तथा विभिन्न समयमा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरमा भएका छलफलका विषयलाई गृहमन्त्रीस्तरीय बैठकमा अघि बढाइनेछ।
सुरक्षा सहकार्य मुख्य एजेन्डा
बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी, आतंकवाद, साइबर अपराध तथा अन्य सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बिमस्टेक सदस्य राष्ट्रबीच कानुन कार्यान्वयन गर्ने निकाय, गुप्तचर संस्था तथा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषय पनि बैठकको महत्वपूर्ण एजेन्डा रहनेछ।
बैठकबाट सुरक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संयन्त्र तथा दस्तावेजलाई अघि बढाउँदै संयुक्त घोषणापत्र जारी गर्ने तयारीसमेत गरिएको छ।
नेपालको प्राथमिकतामा विपद् व्यवस्थापन
नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरणलाई बैठकमा प्राथमिकताका साथ उठाउने भएको छ।
त्यस्तै, पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तथा विपद्का बेला सदस्य राष्ट्रबीच एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयमा नेपालले जोड दिनेछ।
हिमाली क्षेत्रमा बाढी, पहिरो, हिमताल विस्फोटलगायतका विपद्को जोखिम बढिरहेको अवस्थामा क्षेत्रीय स्तरमै पूर्वतयारी र समन्वय आवश्यक रहेको नेपालले बताउने तयारी गरेको छ।
समकक्षीसँग द्विपक्षीय वार्ता
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेकका सदस्य राष्ट्रका आफ्ना समकक्षीसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका क्रममा क्षेत्रीय सुरक्षा सहकार्यसँगै नेपालका प्राथमिकता र आपसी चासोका विषयमा छलफल हुने बताइएको छ।
गृहमन्त्री गुरुङ बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।


























