विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा

A notice in Nepali from Mechinagar Ward No. 10

लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् ।

शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भने ।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने।

उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए । गत वर्ष कोभिड-१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए ।

एनआरएनको माग- बेलायतमा राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने वातावरण बनोस् 

त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए। ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गरेका थिए। ‘यसबाट नेपालमा रहेको हाम्रो सम्पत्ती सुरक्षित हुने र नेपालबाट ठूलो मात्रामा भै रहेको पूँजी पलायन पनि रोकिने हाम्रो विश्वास छ,’ उनले भने।

कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितलगायत एनआरएनए यूकेका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री देउवाको सम्मानमा एक स्वागत समारोह राखिएको र अपरान्ह प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको ‘वर्ल्ड लिडर्स समिट’ मा भाग लिन स्कटल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.