२० फागुन, मेचीनगर ः भोली हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि झापाको निर्वाचन क्षेत्र नम्बर १ का अधिकाँश उम्मेद्वारहरुले आ—आफ्नै वडामा रहेका मतदान स्थलबाट मतदान गर्नेछन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४५ वटा मतदान स्थल र एक सय ४५ वटा मतदान केन्द्र रहेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बनेका रामचन्द्र उप्रेतीले मेचीनगर नगरपालिका वडा नम्बर—६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने छन् । सोहि वडाका स्थायी बासीन्दा उप्रेतीले २०३६ सालमा भएको जनमत संग्रहको निर्वाचनमा पहिलो पटक सोहि मतदान स्थलबाट मतदान गरेको बताए ।
केशवराज पाण्डेले मेचीनगर —७ मा रहेको अरनिको माध्यमिक विद्यालय सतिघट्टा मतदान स्थलबाट मतदान गर्ने उनका प्रतिनिधि अजय घिमिरेले जानकारी दिए । नेपाली काँगे्रेसका तर्फबाट उम्मेद्वार बनेका पाण्डे सोहि वडाको इटाभट्टामा बस्दैं आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्कीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर —४ बाहुनडाँगीमा रहेको सरस्वती माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने उनका प्रतिनिधि विशालकृष्ण वास्तोलाले जानकारी दिए । वास्तोलाका अनुसार कार्की सोहि वडाका बासिन्दा हुन् । २०४६ सालको राष्ट्रिय जनाआन्दोलन पछि भएको निर्वाचनमा कार्कीले पहिलो पटक यही मतदान स्थलबाट मतदान गरेको उम्मेद्वार कार्कीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार निशा डाँगीले आफ्नो मतदाता नामावली जहाँ छ त्यहीबाट मतदान गर्ने बताईन् । ‘मेरो मतदाता नामावली जहाँ छ त्यही मतदान स्थलबाट मतदान गर्छु ’ डाँगीले भनिन्, ‘म विहान मतदान गर्दिन, पहिला मेरा सवै मतदाताहरुले मतदान गर्नेछन् म साँझपख गर्ने छु । ’
श्रम संस्कृति पार्टीका उम्मेद्वार केवलराम राईले पनि मेचीनगर नगरपालिका वडा नम्बर—६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने बताए । उनका अनुसार उम्मेद्वार राईले पहिलो पटक जुन मतदान स्थलबाट मतदान गरे अहिले पनि सोहि मतदान स्थलबाटै मतदान गर्ने छन् । उनी झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर—६ का स्थायी बासिन्दा हुन् ।
२०६४ साल चैत २८ गते पहिलो संविधान सभा निर्वाचनमा पहिलो पटक मतदान गरेकानेपाली कम्यूनिष्ट पार्टीका उम्मेद्वार अशेष घिमिरेले मेचीनगर—१० मा रहेको शिशु साक्षर प्राथमिक विद्यालयबाट मदतान गर्ने बताए । ‘मैले पहिलो पटक २०६४ साल चैत २८ गते पहिलो संविधान सभा निर्वाचनमा पहिलो पटक मतदान गरेको थिए त्यसपछि हरेक निर्वाचनमा यही मतदान स्थलबाट मतदान गर्नेछु । ’
तर, उज्यालो नेपाल पार्टीका उम्मेद्वार नरेशकुमार लाओती र स्वतन्त्र उम्मेद्वार गणेशकुमार खरेलले हाल बसोबास गरीरहेको वडाबाट मतदान गर्न नपाउने भएका छन् । झापाको मेचीनगर —३ मा बसोबास गरीरहेका लाओतीले मेचीनगर नगरपालिका वडा नम्बर —५ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय सुरेन्द्रनगरबाट मतदान गर्ने बताए । ‘वडा नम्बर —३ मा मेरो अस्थायी बसोबास हो’ लाओतीले भने, मेरो मतदाता नामावलीसहित सवै प्रमाणहरु वडा नम्बर —५ मै छ । ’ स्वतन्त्र उम्मेद्वार गणेश खरेलले मेचीनगर नगरपालिका वडा नम्बर —६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने बताए । मेचीनगर —६ मा मतदाता नामावली रहेको र यसअघिका सवै निर्वाचनमा यहीबाट मतदान गरेका खरेल हाल मेचीनगर —८ मा बसोबास गरीरहेको बताए ।
मंगोल नेश्नल अर्गनाइजेशन ‐एमएनओ) का उम्मेद्वार सन्तोष तामाङलेमेचीनगर—२ को भानु माध्यमिक विद्यालय भृकुटी मतदान स्थलबाट मतदान गर्ने मंगोल नेश्नल अर्गनाइजेशन ‐एमएनओ) का मेचीनगर अध्यक्ष सोमविर तामाङले बताए । उम्मेद्वार तामाङ सोहि वडाका स्थायी बासिन्दा हुन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर १ मा हाल ६५ हजार ८ सय ५८ पुरुष र ६५ हजार २ सय ९ महिला गरेर एक लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा ६० हजार २ सय ३७ पुरुष र ६० हजार १ सय ३८ महिला गरी कुल एक लाख २० हजार ३ सय ७५ जना मतदाता थिए । भोली हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस अघि भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलनामा १० हजार ६ सय ९२ जना नयाँ मतदाता यसक्षेत्रमा थपिएका छन् ।

























