२६ गते, चितवन : चितवनको भरतपुर महानगरपालिका–१९ तमु टोलमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना मजदुरको मृत्यु भएको छ।
स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्।
बुधबार साँझ सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेका थिए। उनको उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो।
उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


























