दागबत्ती दिन पाँच लाख माग

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, बर्दिबास  : बिहेको बेला दाइजोका लागि हुने सौदाबाजीको घटना सामान्यजस्तै लाग्छ। तर यहाँ मृत्युको शोकमा पनि त्यस्तै सौदाबाजी भएको छ। त्यस्तो सौदाबाजी पनि अरूले नभएर छोरा नभएका मृतकका ज्वाईंले गरेका हुन्। मृतकको परिवारले मागेजति रकम दिन नसकेपछि मृतकको अन्त्येष्टि पनि हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बस्नुभएको छ।

मानवतालाई नै लज्जित पार्ने यो संवेदनाहीन घटना बर्दिबास नगरपालिका वडा नम्बर १४ को हो। छोरा नभएका एक वृद्धको मृत्युपछि दागबत्ती दिन मृतककी जेठी श्रीमतीतर्फका ज्वाईंले नै पाँच लाख माग गरेका थिए। रकम दिन नसक्दा पहिलो दिन दाहसंस्कारै हुन सकेन। शव दिनभर घरमै रह्यो।

लामो समयदेखि पक्षघातले थलिएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घरमै मृत्यु भएको थियो। मृतकका दुई श्रीमतीबाट आठ छोरी छन्। जेठी श्रीमती मनतोडियातर्फ पाँच छोरी भए पनि छोराको आसमा फूलोदेवीसँग फकिराको दोस्रो विवाह भएको थियो। कान्छीबाट पनि छोरा भएनन् तीन छोरीमात्र भए। छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने जिरह जातीय सभाले ग-यो। बर्दिबासस्थित सोनार जातिका ‘मान्यजन’ (जातीय मुखिया) इनरजित साह सोनार हुनुहुन्छ। इनरजित मृतक फकिराकै जेठी श्रीमतीतर्फका साँइली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्।

इनरजितकै नेतृत्वमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया)तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भुले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने निधो ग-यो। तर यसका लागि मृतककी कान्छी श्रीमतीले दागबत्तीबापत पाँच लाख रुपियाँ दिनुपर्ने उर्दी जारी भयो। “नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै भन्नुभयो, “मैले त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु ? तैपनि दुई लाखजति दिन्छु त भनेकी थिएँ। मान्दै मानेनन्।”

घटनाको साक्षी बनेका फूलोदेवीका छिमेकी पनि यो कलह देखेर चकित् छन्। छिमेकी सीता नेपाल र गीता श्रेष्ठका अनुसार त्यो रात पैसामा कुरा नमिलेपछि “मलामी पनि जाँदैनौँ, हेरौँ कसरी गर्दा रहेछौ अन्त्येष्टि भनेर ज्वाईंसमेत सबैले छाडेर गए।”

“मान्छे मरेकोभन्दा पनि मानवता मरेको देखेर मृतकको घरमा रुवाबासी भयो,” नेपालले भन्नुभयो, “पैसाका लागि मान्छे यतिसम्म तल झर्न सक्छ भनेर सोचेका पनि थिएनौँ।” असहाय मृतक परिवारले शवको अगाडि रुँदै रात काटे। तर भोलिपल्ट पनि इनरजितले पाँच लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान छाडेनन्। पीडित फूलोदेवीका अनुसार त्यसपछि भने १५ वर्षीया छोरी रूपाले हिम्मत गरिन्।

“न रुनूस् मम्मी कसैले नगरे मेरो बुबालाई म आफैँ दागबती दिन्छु भनी छोरीले हिम्मत गरी,” उहाँले पीडा पोख्नुभयो, “त्यसपछि सबै तयारी ग-यौँ र भोलिपल्ट अपराह्नतिर छोरीहरूले नै शव बोकेर भब्सीखोलामा लगेर दाहसंस्कार भयो।”

अहिले रूपा नै बुबाको किरिया बस्नुभएको छ। रूपाले ‘तिमीहरूले नै मेरो दाहसंस्कार गर्नू’ भनी बुबाले भनेको स्मरण पनि गर्नुभयो। “बुबाको अन्तिम संस्कार गर्न पाएकोमा मलाई सन्तोष लागेको छ,” बर्दिबासस्थित देउराली माविको कक्षा ९ मा अध्ययनरत रूपाले भन्नुभयो, “छोरीप्रतिको सामाजिक अन्धविश्वास तोड्न पाएकीमा म पनि खुसी छु।”

तर फूलोदेवीको दुःख यत्तिकैमा सकिएन। दाहसंस्कारपछि जातीय मुखियासमेत रहेका सौतेनी ज्वाईं इनरजितले फेरि पनि पाँच लाख रुपियाँ मागेर दुःख दिन थालेका छन्। काजकिरिया भोजभातका लागि रुपियाँ मागेको पीडित फूलोदेवीले बताउनुभयो। “मेरो बूढोको काजकिरिया म आफँै गर्छु भन्दा, त्यसो भए तिम्रो घरमै आउँदैनौँ, काजकिरिया पनि कुनै जातलाई सहभागी हुन दिँदैनौँ भन्नुहुन्छ। भातपानी काट्ने धम्की दिनुहुन्छ,” रसाएका आँखा पुछ्दै फूलोदेवीले भन्नुभयो।

इनरजितले पनि पाँच लाख रुपियाँ मागेको स्वीकार्नुभयो। छोरा नभएपछि अरूले काजकिरिया गर्दा ‘हैरानी खर्च’ दिनैपर्ने दाबी उहाँको छ। मृतक आफ्नो ससुरा पनि भएको र घरमा महिलामात्र रहेकाले काजकिरियामा सहजीकरण गरिदिन आफूले पाँच लाख मागेको उहाँले स्वीकार्नुभयो। “छोरीले दागबती दिइन् कुरा सकियो,” इनरजितले भन्नुभयो, “तर काजकिरियाका लागि मलाई अभिभावक बनाउने हो भने पाँच लाख त पहिल्यै चाहिन्छ। पछि हिसाब गरेर लेनदेन गर्ने यहाँको चलन नै हो तर जातभात काट्ने आरोप गलत हो।”

प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार मृतक परिवारसँग कुनै पनि बहानामा रुपियाँ माग्नु र मानसिक पीडा दिनु दण्डनीय अपराध हो। घटनालाई कानुनी दायरामा ल्याउनेतर्फ आफूले कारबाही अघि बढाउने उहाँले बताउनुभयो। इलाका प्रहरीका कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटनाको सत्यतथ्य बुझी कारबाही अघि बढाउने बताउनुभयो। मृतक फकिरा जेठी श्रीमतीको मृत्यु भएपछि कान्छी फूलोदेवीसँग बस्दै आउनुभएको थियो। जेठीपट्टिका सबै छोरीको बिहे भइसकेको छ भने कान्छी फूलोदेवीपट्टिकी माहिली रूपा र कान्छी सविता नाबालिग छन्।

गोरखापत्रअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.